Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

इन्डोनेशियाको बालीमा अगस्ट २५ देखि २९ सम्म सम्पन्न मिस वर्ल्ड टुरिज्म २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने दुई प्रतिभाशाली सुन्दरीहरूले मुलुकलाई गर्विलो सफलता दिलाएका छन्। रेबिका थापा मगर र गरिमा गुरुङ दुवैले प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि हात पार्दै नेपाललाई विश्वमञ्चमा उज्यालो पारेका छन्।
गण्डकी प्रदेशको लमजुङ निवासी रेबिका थापा मगरले यस पटक मिस साउथ एशिया को हैसियतमा नेपालको प्रतिनिधित्व गरिन्। उनले आर.के. इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजना गरिएको मिस ग्राण्ड नेपाल २०२५ मा मिस ग्राण्ड गण्डकी जितेर आफ्नो यात्रा सुरु गरेकी थिइन्। बुद्धिमत्ता, आत्मविश्वास र सांस्कृतिक प्रस्तुतीकरणका साथ अन्तर्राष्ट्रिय स्तरमा आफ्नो व्यक्तित्व देखाउँदै उनले मिस वर्ल्ड टुरिज्म एशिया २०२५ को उपाधि जित्न सफल भइन्। यस उपाधिले उनलाई सम्पूर्ण महादेशको पर्यटन प्रवद्र्धन गर्ने क्षेत्रीय दूतका रूपमा स्थापित गराएको छ।

त्यस्तै, कोशी प्रदेशको बेलबारी निवासी गरिमा गुरुङले पनि नेपालको गौरव बढाइन्। उनले मिस ग्राण्ड नेपाल २०२५ मा मिस ग्राण्ड टुरिज्म नेपाल २०२५ र मिस एक्टिभ अवार्ड जितेर अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर पाएकी थिइन्। बालीमा आयोजित प्रतियोगितामा नेपालको पर्यटन सम्भावना, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार गर्ने उद्देश्यसहित पुगेकी गरिमाले आफ्नो आकर्षण र व्यक्तित्वका बलमा दुई उपाधि जितिन्—मिस वर्ल्ड टुरिज्म पपुल्यारिटी २०२५ र मिस वर्ल्ड टुरिज्म एलिगेन्स २०२५।

रेबिका र गरिमा दुवैलाई नामी फेसन कोरियोग्राफर तथा मिडिया व्यक्तित्व रोजिन शाक्यले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि विशेष प्रशिक्षण र अभिमुखीकरण गराएका थिए। यही तयारीले उनीहरूलाई विश्वमञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुन मद्दत पुर्‍यायो। यस सफलतामा थप गर्वको विषय के रह्यो भने, नेपालका लागि मिस वर्ल्ड टुरिज्मका नेशनल डाइरेक्टर लक्की राम के.सी. पनि बालीसम्म सहभागी भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय