महेन्द्रनगर, कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए ।
यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापूमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग (६ लेनको सडक) निर्माणका लागि स्थापना गरिएको कालोपत्रे प्लान्टलगायतका सवारीसाधनलाई क्षति पु¥याएको छ ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुलका कामदारको बिहीबार मध्यरातमा समेत उद्धार गरिएको बताउनुभयो । “ अझै कति मेसिन नदीले बगायो यकिन भएको छैन”, उहाँले भन्नुभयो, “नदीमा पानीको बहाव घट्ने क्रममा छ ।”
उहाँले वडा नं १३ मा सेनाले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको स्थलमा समेत बाढी पसेकाले दाहसंस्कारमा समस्या भएको बताउनुभयो । स्थानीय प्रशासनले शव व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्न त्यहाँ स्थलगत निरीक्षण गरेको छ ।
करेन्ट लागेर मृत्यु
भीमदत्त–१८ सालघारीका २४ वर्षीया सरस्वती धामीको शुक्रबार कपडा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । तीन दिनअघि माइत भीमदत्त–१९ खयरभट्टी गएका बेला कपडा सुकाउने क्रममा करेन्ट लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
“करेन्ट लागेर घाइते भएकी धामीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो”, प्रवक्ता थापाले भन्नुभयो, “त्यही बेला करेन्ट लागेर घाइते भएका ५० वर्षीय गङ्गादेवी धामीको महाकाली अस्पतालमा उपचार हुँदैछ ।” प्रहरीका अनुसार गङ्गादेवी मृतक सरस्वतीकी आमा हुन् । प्रवक्ता थापाले घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
नदीबाट २० लाखको क्षति
दार्चुला : महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण कार्य चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो ।
नदीमा आएको बहावका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रमा रहेको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताउनुभयो ।
“नदीले तटबन्ध पूरै ढाकेको छ । तटबन्धमा अन्य के कति क्षति भएको भन्नेबारे यकिन भएको छैन”, पाण्डेले भन्नुभयो, “अहिलेसम्म करिब रु २० लाख बराबरको क्षति भएको छ ।
विसं २०७० को बाढीपछि नदी नियन्त्रण आयोजनाले पहिलो चरणमा खलङ्गाको नमस्कारदेखि बङ्गाबगडसम्म तटबन्ध निर्माणको काम शुरु गरेको थियो । दोस्रो चरणमा खलङ्गा बाहिरका क्षेत्रमा निर्माण भइरहेको हो । श्रीवगडमा पनि बाढीले क्षति गरेको थियो । सो क्षेत्रमा तटबन्ध निर्माणदेखि तातोपानी धार्मिक क्षेत्र जोगाउने गरी तटबन्ध निर्माण कार्य भइरहेको थियो ।
निरन्तर वर्षा र भारतले धौलीगङ्गा परियोजनाको बाँध खोलेका कारण आयोजनाको तटबन्धमा क्षति पुगेको हो । बिहीबार मात्रै भारतले धौलीगङ्गा जलविद्युत्को बाँध जुनसुकै बेला खुल्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो
