
काठमाडौं, साफ यू–१७ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित नेपाली युवा टोली श्रीलंकाको कोलम्बो पुगेको छ । शुक्रबार बिदाइ कार्यक्रमपछि टोली शनिबार कोलम्बो प्रस्थान गरेको हो । सन् २०११ बाट सुरु भएको प्रतियोगितामा नेपाल नौ पटकसम्म खेल्दा पनि अझैसम्म उपाधिबिहीन छ । चार पटक फाइनलमा पुगे पनि नेपाल सधैं उपविजेतामै सीमित भएको थियो ।
फरक रणनीति र लामो तयारी
यसपटक भने प्रशिक्षक सञ्जित श्रेष्ठले फरक रणनीति र तयारीका साथ टोलीलाई मैदानमा उतारिएको बताएका छन् । मोरङमा एक महिना लामो बन्द प्रशिक्षणमा खेलाडीलाई राखिएको थियो । प्रारम्भिक छनोटमा सयभन्दा बढी खेलाडी सहभागी भएका थिए भने अन्तिममा २३ सदस्यीय टोली घोषणा गरिएको हो ।
अनुभवसहितको टोली
गोलरक्षक पेम्बानुर्बु भोटे, विशेष बानियाँ, डिफेन्डर प्रशान्त मोक्तान, भुवन कामी, मिडफिल्डर राम थामी र सुजन स्याङ्तानलगायत ६ जना खेलाडी पहिले यू–१६ साफ च्याम्पियनसिप खेलिसकेका छन् । प्रशिक्षक श्रेष्ठले यही अनुभव नेपाललाई फाइनलसम्म पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
भारतको दबदबा, नेपाल उपविजेतामै
साफ यू–१७ च्याम्पियनसिप भारतले सर्वाधिक ६ पटक जितेको छ । बंगलादेशले दुई पटक र पाकिस्तानले एक पटक उपाधि हात पारेका छन् । नेपाल भने अहिलेसम्म सर्वाधिक ४ पटक उपविजेता बनेको छ, र ती सबै फाइनलमा भारतसँगै पराजित भएको इतिहास छ ।
एन्फाको खल्लो बिदाइ
शुक्रबार भएको बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का शीर्ष पदाधिकारी भने सहभागी भएनन् । जेन–जी आन्दोलनका कारण कर्फ्यु लाग्दा एन्फा कम्प्लेक्स सुनसान थियो । अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसमेत सम्पर्कमा नरहेको बताइएको छ । बिदाइ कार्यक्रममा एन्फा प्रवक्ता सुरेश शाह मात्र उपस्थित थिए ।
पहिलो खेल श्रीलंकासँग
नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ आयोजक श्रीलंका र बंगलादेशसमेत छन् । १५ सेप्टेम्बरमा श्रीलंकासँग पहिलो खेल खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल १८ सेप्टेम्बरमा बंगलादेशसँग हुनेछ । पहिलो खेलमै जित हासिल गरे नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
अन्तिम उपाधि भिडन्त २७ सेप्टेम्बरमा हुनेछ ।