काठमाडौँमा आयोजना गरिएको प्याब्सन लिटिल मिस आइडल २०२५ भव्यताका साथ सम्पन्न भएको छ। प्याब्सन काठमाडौँ र एक्शन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गस्थित ब्लु प्याभिलियन मा सम्पन्न भएको हो। विभिन्न विद्यालयका ६० जना विद्यार्थी बालिकाहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनायो। प्रतिस्पर्धामा पृथा न्यौपाने विजेता घोषित भइन् र उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरिन्। ऐश्वर्या अधिकारी पहिलो रनर–अप भइन् र २५ हजार रुपैयाँ पुरस्कार पाउँदा, आइशा भट्टराई दोस्रो रनर–अप भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन्। यसैगरी, सुजेना थापाले मिस ट्यालेन्ट उपाधि जितिन् भने अनुमा श्रेष्ठले मिस पब्लिक च्वाइसको उपाधि पाए, दुबैलाई १५ हजार रुपैयाँ नगद पुरस्कार दिइयो। प्रतियोगिता विभिन्न चरणहरूमा सम्पन्न भएको थियो।

परिचय चरणमा सबै प्रतियोगीले आफ्नै विद्यालयको पोशाकमा प्रस्तुत भएर आत्मपरिचय दिएका थिए। सांस्कृतिक चरणमा सहभागीहरूले विभिन्न जातीय, सांस्कृतिक र परम्परागत पोशाकमा प्रस्तुत गर्दै नेपालको विविध संस्कृति देखाए। भाषण चरणमा सबैले आईआईएफटी नेपालका विद्यार्थी डिजाइनरहरूले तयार पारेको आकर्षक पोशाकमा आफ्नो विचार प्रस्तुत गर्ने अवसर पाए। त्यसपछि टप १५ छानिएको थियो, जसमा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस विजेताहरू पनि वाइल्ड कार्ड मार्फत प्रवेश गरे। अन्तिम चरणमा, प्रमुख निर्णायकले सोधेको एउटै प्रश्नमा सबै प्रतियोगीले तीन मिनेटभित्र लिखित जवाफ दिनुपरेको थियो। यसले उनीहरूको विचार प्रष्टता र आत्मविश्वास परीक्षण गर्यो।

कार्यक्रमलाई सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सञ्चालन र कोरियोग्राफी गरेका थिए। सहभागीलाई एन्जेल राई (मिस मंगोल नेपाल २०२४) ले प्रशिक्षकको रूपमा मार्गदर्शन गरिन् भने नृत्य कोरियोग्राफी रीना लामाले गरे। आईआईएफटी नेपालका विद्यार्थी डिजाइनरहरूले प्रस्तुत गरेका आकर्षक पहिरनहरूले कार्यक्रममा थप चमकता भरे। कार्यक्रमको अध्यक्षता प्याब्सन काठमाडौँ सल्लाहकार तथा कार्यक्रम संयोजक रिता राई दाहाल ले गर्नुभयो भने प्रमुख निर्णायकको भूमिकामा प्रख्यात चलचित्र निर्देशक तुलसी घिमिरे हुनुहुन्थ्यो। संयम, सिर्जनशीलता, संस्कार र आत्मविश्वाससँग जोडिएको प्याब्सन लिटिल मिस आइडल २०२५ केवल सुन्दरताको प्रतियोगिता मात्र नभई बालिकाहरूलाई आत्मविश्वास, संस्कृतिक पहिचान र नेतृत्व क्षमतामा प्रोत्साहन दिने महत्वपूर्ण मञ्च बनेको छ।


