
मिस्टर नेपाल २०२५ को भव्य ग्रान्ड फिनाले २०२५ सेप्टेम्बर २० मा काठमाडौंको द सोल्टीमा सम्पन्न भयो। कडा प्रतिस्पर्धापछि प्रतिष्ठित मिस्टर नेपाल वर्ल्ड २०२५ को उपाधि हिमाञ्चल राज केसीले जित्न सफल भए। यसै क्रममा, गिरीश रत्न शाक्य मिस्टर ग्लोबल नेपाल २०२५ घोषित भए भने प्रकाश चौहान म्यान अफ द वर्ल्ड नेपाल २०२५ बने। यससँगै निश्चल मानन्धर फर्स्ट रनर(अप र दर्पणसिंह गिरी सेकेन्ड रनर(अप बने। नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित र एक्स्पोज नेपाल डट कमले शुरुवात गरेको यो प्रतियोगिता यस वर्षको बहुप्रतिक्षित पेजेन्टमध्ये एक रह्यो, जसले आत्मविश्वास र व्यक्तित्वको उत्सव मनायो। कार्यक्रमको कोरियोग्राफी तथा प्रशिक्षण प्रख्यात फेसन व्यक्तित्व प्रशान्त ताम्राकारले गरेका थिए भने माल्विका सुब्बाले आकर्षक ढंगले होस्ट गरेकी थिइन्।
हप्तौंको तयारी र ग्रुमिङ सेसनपछि प्रतियोगीहरूले विभिन्न चरणमार्फत आफ्नो यात्रा प्रस्तुत गरे। परिचयात्मक चरणमा सहभागिहरु राइनो लेदर्सको विशेष लेदर वेयर्समा प्रस्तुत भएका थिए भने दोस्रो राउन्डमा कासाको आकर्षक मेन्स वेयरमा देखिए। त्यसपछि टप १२ प्रश्नउत्तर राउन्ड हुँदै टप ७ फाइनल प्रश्नउत्तरमा प्रतिस्पर्धा झन् कडा बन्यो। अन्तिम चरणमा फेसन डिजाइनर मनीष राईको विशेष मेन्स वेयरमा प्रस्तुति दिँदै ग्रान्ड फिनाले सम्पन्न भयो। कार्यक्रममा विविध सबटाइटल अवार्डहरू पनि घोषणा गरिए। प्रकाश चौहानले मिस्टर मल्टिमिडिया र मोस्ट एक्टिभ दुबै उपाधि जिते। निश्चल मानन्धर मिस्टर स्टाइल आइकन बने भने हिमाञ्चल राज केसीले बेस्ट पर्सनालिटी हात पारे। दर्पणसिंह गिरीले बेस्ट स्पोर्ट्सम्यानसिप जिते भने गिरीश रत्न शाक्यलाई जेन्टलम्यान विथ पर्पस प्रदान गरियो। अन्य विजेतामा विजय स्याङतान मोस्ट ट्यालेन्टेड, लक्ष्मण चन्द ठकुरी बेस्ट फिजिक, अष्टिन शेरचन मोस्ट पपुलर, सक्रिय घिसिङ तामाङ मोस्ट इन्टेलेक्चुअल, सबल कटुवाल मोस्ट क्रिएटिभ, र आशिष गिरी मिस्टर कमर्शियल रहेका थिए।
प्रतिष्ठित निर्णायक मण्डलमा मिस्टर नेपाल २०२३ समर्पण जंग कार्की, चर्चित अभिनेत्री प्रियंका कार्की, आईईसी ग्रुप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, प्रख्यात कमर्शियल फोटोग्राफर राजभाई सुवाल तथा संचारकर्मी सरिता श्री ज्ञवाली रहेका थिए।