मकवानपुर, पछिल्लो समय हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग थपिने क्रम बढ्दै गएको छ। यसै क्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारी भइरहेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार हिमालय एसीपी बोर्डस् प्रालि (एलुमिनियम बोर्ड उत्पादन) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उत्पादन) केही दिनभित्रै सञ्चालनमा आउने छन्।
बन्द उद्योगको सम्झौता रद्द
लामो समयदेखि बन्द रहेका दुई उद्योगको सम्झौता रद्द गरी सो स्थानमा नयाँ उद्योग ल्याइएको सूचना अधिकारी नेपालले बताए। उनका अनुसार, “सम्झौता भएलगत्तै सञ्चालकहरू तयारीमा जुटेका छन् र एक–दुई साताभित्रै उत्पादन सुरु हुनेछ।”
औद्योगिक क्रियाकलापमा वृद्धि
यसअघि गत वैशाखदेखि लक्की पोली इन्डष्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङ प्रालिले प्लास्टिकका बोरा उत्पादन सुरु गरेका थिए। यस्तै, गत माघदेखि थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चर प्रालिले टिनका साना बाकस उत्पादन सुरु गरेका छन्।


