काठमाडौं, गत वैशाख २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अब ओटिटी प्लेटफर्म एमएसएम भिडियोमार्फत रिलिज भएको छ। बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको यस चलचित्रलाई अब मोबाइल, टेलिभिजन वा कम्प्युटरमार्फत विश्वभर घरमै बसेर हेर्न सकिनेछ।
समाजको यथार्थपरक कथा
आर्टमान्डुले निर्माण गरेको यो चलचित्रले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय संगीतका कारण दर्शकको मन जितेको थियो। निर्देशन र लेखन नवीन चौहानले गरेका हुन्। चलचित्रले मिडिया र स्वतन्त्र समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
चर्चित कलाकारको अभिनय
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनील पोखरेललगायतका कलाकारले अभिनय गरेका छन्। गीत सुजन चापागाईं र संगीत कोविद बज्रले निर्देशन गरेका हुन्।
५१ दिनको सफल प्रदर्शन
‘ऊनको स्वीटर’ करिब ४० वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रह्यो। हलमा सफलता पाएपछि अब डिजिटल प्लेटफर्ममार्फत विश्वभरका दर्शकसमक्ष पुग्ने भएको छ।


