
गोल्डेन स्टार किड्स एण्ड युथ इन्टरनेशनल नेपाल २०२५ को कार्यक्रम हालै पेप्सिकोलास्थित जीनोस्टुडियोमा सम्पन्न भएको छ। मोडलिङ, गायन, नृत्य र संगीतजस्ता विभिन्न विधामा नेपाली बालबालिका तथा किशोरकिशोरीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेका थिए। यस कार्यक्रमले नेपालभरिका प्रतिस्पर्धीहरूबाट उत्कृष्ट प्रतिभा छनोट गरी उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न टर्की पठाउने उद्देश्य राखेको थियो। अन्तर्राष्ट्रिय फाइनल प्रतियोगिता सन् २०२५ अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म टर्कीमा आयोजना हुने तय गरिएको छ।
कार्यक्रमका ओभरअल विजेतामा प्रियंशु न्यौपाने र प्रीति परियार घोषित भए, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। अल्विन खनाल फर्स्ट रनर-अप बनेका छन् र उनले बेस्ट मेल मोडलिङ ट्यालेन्टको उपाधिसमेत हात पारेका छन्। समिप न्यौपाने सेकेन्ड रनर-अप घोषित भएका छन् भने रोबिया अधिकारीलाई आयोजकको रोजाइ विशेष पुरस्कार (Organiser’s Choice Award) प्रदान गरिएको छ। यी पाँच प्रतिभावान प्रतिस्पर्धीहरू – प्रियंशु, प्रीति, अल्विन, समिप, र रोबिया – सबैले नेपालको प्रतिनिधित्व गर्दै टर्कीको अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउनेछन्।
कार्यक्रममा कुसुम भण्डारीलाई मिस हेरिटेज पेटाइट नेपाल २०२५ को उपाधि प्रदान गरियो । उनले अब सन् २०२५ को नोभेम्बर महिनामा थाइल्याण्डको बैंककमा आयोजना हुने हेरिटेज पेजेन्ट्स २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यो भव्य कार्यक्रम SGA Fashion Pvt. Ltd. द्वारा आयोजित गरिएको थियो। कार्यक्रमका निर्देशक रमेश जंग शाही थिए भने राष्ट्रिय निर्देशकको भूमिकामा प्रमिला सिलवाल रहेकी थिइन्। कार्यक्रमको कोरियोग्राफी र सञ्चालन चर्चित सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए, जसले कार्यक्रमको ऊर्जा र व्यावसायिकता उल्लेखनीय रूपमा बढाएका थिए। निर्णायक मण्डलमा गायिका रेखा शाह, हास्यकलाकार राजाराम पौडेल, नृत्य कोरियोग्राफर स्वोस्थानी तामाङ, र क्रिएटिभ इन्टरप्रेनर सुभाष प्रधान रहेका थिए।
प्रतियोगितामा सहभागिता जनाएका धेरै प्रतिभाशाली प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट १३ जनालाई टप फाइनलिस्टका रूपमा छानिएको थियो। ती प्रतियोगीहरू थिए – प्रियंशु न्यौपाने, अल्विन खनाल, समिप न्यौपाने, राजन बराइली, आयुष घिमिरे, कुसुम भण्डारी, प्रीति परियार, आशु ढकाल, नमुना शाही, रोबिया अधिकारी, अर्पणा घतानी, रितु सुनार, र आचल तामाङ। यी प्रतिस्पर्धीहरूले विभिन्न विधामा आत्मविश्वास, प्रस्तुति शैली, र सिर्जनात्मकता देखाएर निर्णायकहरूको ध्यान खिच्न सफल भएका थिए।
त्यस्तै, विशेष विधागत उपाधिहरू पनि विभिन्न प्रतिस्पर्धीहरूलाई प्रदान गरिएको थियो। आयुष घिमिरेलाई बेस्ट स्माइल, आशु ढकाललाई बेस्ट परफर्मेन्स, अर्पणा घतानीलाई बेस्ट वाक, पुष्पाञ्जली भट्टराईलाई पपुलर चोइस, आचल तामाङलाई सोशल मिडिया अवार्ड, प्रीति परियारलाई बेस्ट ड्रेस, अल्विन खनाललाई बेस्ट पोज, राजन बराइली तथा नमुना शाहीलाई कन्फिडेन्स र विज ई वन तथा परिस्ना खत्रीलाई बेस्ट डिसिप्लिन अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले प्रस्तुत गरेका नृत्य, गायन, र संगीत वादनले दर्शकहरूलाई मन्त्रमुग्ध पारे। मोडलिङ सेग्मेन्टमा सजिना बिष्ट र समिक्षा लमिछानेद्वारा डिजाइन गरिएका आकर्षक पोशाकमा सहभागिहरुले स्टेजमा आत्मविश्वाससाथ मोडलिङ प्रस्तुत गर्दै कार्यक्रमको रौनक थपेका थिए। यस कार्यक्रमले नेपाली युवाहरूको कला, प्रतिभा, र आत्मविश्वासलाई उजागर गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्किन प्रेरणा तथा अवसर प्रदान गरेको छ।