
ललितपुर, ललितपुरको खोकनामा अहिले ऐतिहासिक सिकाली जात्रा मनाइँदै छ। सिकाली चौरस्थित मन्दिर वरिपरि भेला भएका स्थानीयले पूजापाठ, देवी नृत्य र सामूहिक भोजसँगै जात्रा मनाएका हुन्।
स्कन्द पुराणमा उल्लेखित दक्ष प्रजापतिको यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त पारेको कथामा आधारित यो जात्रामा मंगलबार बिहानै यज्ञमण्डप बनाएर यज्ञ लगाइएको थियो।
घटस्थापनादेखि नवमीसम्म चल्ने सिकाली जात्रा श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्यसहित मनाइन्छ। खोकनावासीहरू एक–आपसमा टीका लगाउँदैनन् र यो मौलिक संस्कृतिलाई निरन्तरता दिन्छन्।
स्थानीयहरूका अनुसार सिकाली जात्रा दसैँभन्दा पुरानो परम्परा भएकाले खोकनावासीहरूले दसैँ नमनाउने प्रचलन रहिआएको छ।