
१९ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमानलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे ।
ओमानका आमेर कलिमले २ विकेट तथा फेसल शाहले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो । ओमानका लागि आर्यन विष्टले सर्वाधिक २३ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा नन्दन यादव र कुशल मल्लले १-१ विकेट लिए ।
नेपालले अर्को वार्म अप खेलमा भोलि कतारसँग खेल्नेछ ।