Sunday 26 October 2025 / आईतवार, ९ कार्तिक २०८२

नवलपुर, विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्ड यात्राका लागि सहज बन्दै गएको छ।
सडकको ११३ किलोमिटरमध्ये दाउन्नेबाहेकका अधिकांश भागमा यातायात सुचारु र सहज बनेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ।

योजनाका पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार, अहिले सडकको ११ स्थानमा विस्तार कार्य जारी छ।
दाउन्नेको पूर्वतर्फ करिब दुई किलोमिटर र पश्चिमतर्फ पाँच किलोमिटरबाहेक अधिकांश क्षेत्रमा सवारी आवागमन सहज भइसकेको उनले बताए।

खनालले भने, “दाउन्ने खण्डमा पनि धुलो हटाएर सडक सहज बनाइएको छ। अहिले पुल सञ्चालन, सर्भिस लेन कालोपत्र र राजमार्ग कालोपत्र गर्ने काम भइरहेको छ। यो हिउँदभित्र राजमार्ग पूर्ण रूपमा सहज हुनेछ।”

उनका अनुसार निर्माणाधीन ३४ पुलमध्ये अरुणखोला र चोरमाराका दुई ठूला पुलबाहेक सबैको निर्माण पूरा भइसकेको छ।
एकतर्फ कालोपत्र पूरा भएका स्थानमा अर्कोतर्फ कालोपत्र र सर्भिस लेन निर्माण भइरहेको उनले जानकारी दिए।

सडक विस्तारको ठेक्का लिएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताए।
उनले भने, “विगतको तुलनामा सडक निकै सहज बनेको छ। थपिएको म्यादभित्र निर्माण सम्पन्न गर्न हामी फिल्डमा सक्रिय छौँ।”

हाल तिहारका कारण काम केही सुस्त भए पनि छटपछि विस्तारमा तीव्रता आउने उनले बताए।
गैँडाकोट, देवचुली, चोरमारा र दाउन्ने क्षेत्रमा अहिले मुख्य काम भइरहेको उल्लेख गर्दै झाले दुईतर्फी कालोपत्र र डिभाइडर निर्माण पनि अगाडि बढिरहेको जानकारी दिए।

दाउन्ने पहाडी क्षेत्रमा भने सडक सहज बनाउन ढलान, धुलो हटाउने र किनारमा पर्खाल निर्माणको काम भइरहेको योजनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय