काठमाडौं, अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी नयाँ मूल्य निर्धारण गरेको छ। संघका अनुसार, ठूलो अन्डाको प्रतिक्रेट मूल्य ५०० रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ पुगेको छ।
संघका अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेको र खपत बढेको कारण मूल्य समायोजन गरिएको बताए। अघिल्लो मूल्यभन्दा प्रतिक्रेटमा ५० रुपैयाँले वृद्धि भएको हो। मूल्य निर्धारण चितवन क्षेत्रको आधारमा गरिएको बताइएको छ।
हाल उपभोक्ताका लागि खुद्रा मूल्य प्रति अन्डा करिब २२ रुपैयाँको हाराहारीमा रहेको छ। अध्यक्ष पोखरेलका अनुसार, मूल्यवृद्धिले उपभोक्तामा ठूलो असर नपर्ने दाबी गरिएको छ। “उपभोक्ता मूल्यमा केवल ५०–७० पैसाको फरक पर्छ, त्यसले ठूलो असर पार्दैन,” उनले भने।
तर, उत्पादकले होलसेल मूल्य बढाएपछि होलसेलर र खुद्रा व्यापारीहरूले पनि अन्डा महँगोमा बेच्ने भएकाले अन्ततः उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने हुन्छ।


