काठमाडौं, हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगितामा नेपालले आज भारतलाई ९२ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको विशाल योगफल तयार पार्यो। नेपालका लागि रसिद खानले ५५ रन, सन्दीप जोराले ४७ रन र लोकश बमले ३१ रनको योगदान दिए।
जवाफमा भारतको टोली मात्र तीन ओभरमै ४५ रनमा अलआउट भयो। उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पा, दिनेश कार्तिक र सहबाज नदिमले क्रमशः ५, ७ र ७ रन जोड्न सके।
नेपालका बलर रसिद खानले ३ विकेट, रुपेश सिंह र बसिर अहमदले समान २/२ विकेट लिएका थिए।
यसअघि समूह चरणमा नेपाल दक्षिण अफ्रिका, श्रीलङ्का र अफगानिस्तानसँग पराजित भएको थियो। आजको जितसँगै नेपालले प्रतियोगितामा उत्साहजनक पुनरागमन गरेको छ।


