नेपालको स्वाभिमान र पहिचानको प्रतीक मानिने नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। प्रतियोगिताको सफलताका लागि सहभागी टिम, क्यानका पदाधिकारी, व्यवस्थापक तथा विश्वभरका नेपालीहरूलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना व्यक्त गरेका छन्।
उनले २०७९ चैत २ गते युएईविरुद्ध कीर्तिपुरमा भएको ऐतिहासिक जीत र त्यही दिन दर्शकले देखाएको पूर्वाधारप्रतिको असन्तुष्टिलाई स्मरण गर्दै त्यसपछि आफूले तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड निर्माणको निर्देशन दिएको बताए। बजेट विनियोजन भए पनि प्राविधिक र प्रशासनिक प्रक्रियाका कारण निर्माणमा ढिलाइ भएको उल्लेख छ।
सरकारको निरन्तर प्रयास र सम्बन्धित निकायको समन्वयपछि कीर्तिपुर मैदानमा पहिलोपटक फ्लडलाइटसहित एनपीएल आयोजना हुन लाग्नु नेपाली क्रिकेटका लागि गर्वको विषय भएको उनले बताए।
क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उकासिरहेको उल्लेख गर्दै उनले यो संस्करणले नेपाली क्रिकेटको विकास र पेशागत उचाइमा नयाँ ऊर्जा भर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे।
साथै, राष्ट्रिय गौरवका रूपमा घोषणा भएका अन्य रंगशालाहरू शीघ्र निर्माण गर्न सरकारलाई आग्रह पनि गरेका छन्।
हार्दिक शुभकामना।

