काठमाडौं, नेपाली कम्युनिस्ट पार्टी (नेपाली कम्युनिस्ट पार्टी) ले शनिबार काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ। पार्टीका अनुसार काठमाडौंको भृकुटीमण्डप मा दिउँसो १२ बजे सभा सुरु हुनेछ।
सभाको आयोजक बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र विशेष प्रदेश कमिटी रहेका छन्। एकता सन्देश सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित नेता–कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला हुने कार्यक्रम छ।
सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल सहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित १० घटक दलहरू मिलेर नेकपा गठन भएको थियो। गठनपछि पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
मंसिर १२ गते सुदूरपश्चिम, मंसिर १३ गते लुम्बिनी, मंसिर १४ गते गण्डकी, मंसिर १५ गते कोशी, मंसिर १८ गते कर्णाली र मंसिर २० गते मधेस प्रदेशमा एकता सन्देश सभा सम्पन्न भइसकेको नेकपाले जनाएको छ।


