काठमाडौं, द ब्रिटिश कलेजले पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको र लागेका सार्वजनिक आरोपबारे स्पष्टिकरण दिएको छ ।
करिब ४० जना हस्पीटालिटी म्यानेजमेन्टका विद्यार्थीमध्ये ७-९ जना व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएको तथा उनीहरू र अभिभावकसँग पारदर्शी र सम्मानजनक परामर्श प्रक्रिया अघि बढाइएको अवस्था बाह्य समूह आएर शैक्षिक गतिविधि अवरोध पारिएको जिकिर कलेजको छ ।
एक विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक सञ्जालको दुरुपयोग र क्याम्पस अवरोधका घटनाप्रति आपत्ति जनाएको छ । केही बाह्य समूहले आधारहीन आरोप लगाएको, अनधिकृत भिडियो सार्वजनिक गरेको र शैक्षिक गतिविधि अवरुद्ध गरेको कलेजको भनाई छ ।

यस्तै कलेजले यौन शोषणसम्बन्धी आरोप अस्वीकार गर्दै यस्ता दाबी असत्य, आधारहीन र मानहानीपूर्ण भएको जनाएको छ।
आफू नेपालमा कानुनी रूपमा सञ्चालनमा रहेको उच्च शिक्षण संस्था भएको र संयुक्त अधिराज्यका अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ।
कलेज British Accreditation Council (BAC) बाट मान्यता प्राप्त रहेको र नेपालका सम्बन्धित नियामक मापदण्डअनुसार सञ्चालनमा रहेको जनाएको छ। यस्तै, दुबईस्थित द वुलविच इन्स्टिच्युट (TWI) संयुक्त अरब इमिरेट्सको कानुनअनुसार सञ्चालनमा रहेको स्वतन्त्र संस्था भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा TBC मा सञ्चालन हुने Foundation र Level 3 कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त शैक्षिक मार्ग भएको र Hospitality Management Foundation Level का विद्यार्थीलाई दुबईस्थित TWI मा Higher National Diploma (HND) अध्ययनको अवसर उपलब्ध गराइने जानकारी दिइएको छ। HND पूरा गरेपछि विद्यार्थीले दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार विश्वविद्यालयमा Level 6 अध्ययन गर्न सक्ने व्यवस्था रहेको कलेजको भनाइ छ।
इन्टर्नशिप तथा रोजगारी सहयोग विद्यार्थीको सीप विकासका लागि प्रदान गरिए पनि रोजगारी सुनिश्चित नहुने कुरा भर्ना पूर्व नै जानकारी गराइने कलेजले स्पष्ट पारेको छ। दुबई जाने विद्यार्थीका लागि प्रारम्भिक चरणमा अस्थायी आवास व्यवस्था गरिएको र दीर्घकालीन आवास विद्यार्थी आफैंले व्यवस्थापन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको पनि विज्ञप्तिमा उल्लेख छ। कुनै पनि अवस्थामा विद्यार्थीलाई अलपत्र नपारिएको कलेजको विज्ञप्तिमा उल्लेख छ ।
द ब्रिटिश कलेजले सबै शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको, कक्षा र परीक्षा निर्धारित तालिकाअनुसार भइरहेको र कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ।
कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरे पनि औपचारिक तथा कानुनी माध्यमबाट संवाद गर्न अस्वीकार गरेको कलेजको दाबी छ ।
विद्यार्थीको हक हित र भविष्यमा कलेज प्रशासन संवेदनशील रहेको भन्दै संवाद र सहकार्यबाट समाधानका लागि तयार रहेको कलेजले जनाएको छ ।


