काठमाडौं, प्रेम कथानक फिल्म कुमारी को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गायक केहर सिं लिम्बु को स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो।यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले लोक शैलीको नयाँ गीत दर्शकमाझ ल्याएको हो। ‘डोको बुन्ने’ मा सागर लामिछाने मगर र सुमन तामाङ का शब्द छन्। संगीत सुमन तामाङ र केहर सिं लिम्बुले नै भरेका हुन्। गीतको अडियो प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ रिकेश गुरूङ ले गरेका छन्।
शिशिर खाती को कोरियोग्राफी रहेको गीतको भिडिओमा मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी फिचर्ड छन्। गीतले नवयुवाबीच मौलाउँदै गएको प्रेम भावनालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।
कार्यक्रममा निर्देशक दिनेश राउत ले आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए। ‘डोको बुन्ने’ गीतले फिल्मको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने उनको भनाइ थियो। लेखक विकास सुवेदी ले गीतले फिल्मको भाव स्पष्ट रूपमा व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।
मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले यस फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए। राजभण्डारीले टिम र स्क्रिप्ट मन परेपछि डेब्युका लागि यही फिल्म रोजेको बताइन् भने खड्काले सानैदेखि फिल्मप्रतिको आकांक्षा रहेकाले यसमा अभिनय गरेको उल्लेख गरे।
कार्यकारी निर्माता केदार भुसाल ले ‘भ्यालेन्टाइन डे’को छेको पारेर रिलिज हुन लागेको फिल्मले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे।
फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेम को सहकार्यमा बनेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। फिल्म ‘कुमारी’ माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तालिका तय गरिएको छ।


