काठमाडौं, अभिनेता सौगात मल्ल को मुख्य अभिनय रहेको फिल्म भाइरल गोर्खे को ट्रेलर सार्वजनिक गरिएको छ।
निगम श्रेष्ठ को कथा तथा निर्देशनमा तयार भएको ट्रेलरले फिल्मको कथावस्तुबारे छोटकरीमा प्रकाश पार्छ। ट्रेलर सौगातको पात्र वरपर केन्द्रित छ, जहाँ सामाजिक सञ्जालमा भाइरल बन्ने उनको संघर्ष र अनौठा हर्कतहरू देखाइएका छन्। फिल्मले सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै प्रश्न उठाउँछ।
फिल्ममा सौगातको जोडी अभिनेत्री सृष्टि श्रेष्ठ सँग बाँधिएको छ। यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ ले आफ्नो निर्देशकीय क्षमतालाई अझ परिष्कृत रूपमा प्रस्तुत गर्ने र दर्शकलाई अर्थपूर्ण मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्। समसामयिक र घरघरको विषय भएकाले दर्शकले मन पराउने उनको भनाइ छ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुल को ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवी को पनि अभिनय छ।
फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल रहेका छन्।
अमर महर्जन को छायांकन रहेको फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। फिल्मका वितरक सुनिल मानन्धर हुन्। द्वन्द निर्देशन श्री श्रेष्ठ ले गरेका छन् भने सम्पादन बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्मा ले गरेका छन्।
फिल्म ‘भाइरल गोर्खे’ आगामी माघ १ गते देखि देशव्यापी प्रदर्शनमा आउने तालिका तय गरिएको छ।


