Wednesday 13 May 2026 / बुधबार, ३० बैशाख २०८३

नेवार समुदायका बालिकाहरुमा लक्षित जातिय एवं साँस्कृतिक सौन्दर्य प्रतियोगिताको १५ औं संस्करणका रुपमा मिस लिटिल नेवाः ११४५ भव्यता पूर्वक सम्पन्न भएको छ । नेवार समुदायको भाषा, भेषभुषा र साँस्कृतिक परिवेशमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा ललितपुर निवासी सुरवी बज्राचार्यले शीर्ष उपाधि सहित नगद पुरस्कार रु पच्चीस हजार जित्न सफल भएकी छिन् । प्रतियोगितामा ट्यालेन्ट विधाको अवार्ड सहित काठमाडौं मैतिदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप तथा काठमाडौं कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेन्ड रनर्सअपका रुपमा छनौट भए । उनीहरुले क्रमशः नगद पुरस्कार रु पन्ध्र र दश हजार प्राप्त गरे । नेप्लीज फेसन होमको आयोजना र फाइट फर लाइफ नेपालको सह आयोजनामा संचालन भएको सो प्रतियोगिता प्रदर्शनीमार्ग स्थित द ब्लु पभेलियनमा प्रस्तुत गरिएको हो । डा. किशोरराज प्रधानको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा आरडी फाउन्डेसनका अध्यक्ष देवकाजी डंगोलको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुले नमूना कलेज अफ फेसन टेक्नोलजीमा अध्ययनरत विद्यार्थी डिजाइनरहरुले तयार पारेका सुन्दर एवं आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए ।

लायन्स क्लब इन्टरनेसनल ३२५का पूर्व डिस्ट्रिक गभर्नर मनिश्री रत्न बज्राचार्य मुख्य निर्णायक रहेको सो प्रतियोगितामा नमूना कलेज अफ फेसन टेक्नोलजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, डा. शिक्षिता श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक एवं संचारकर्मी राजु नापित तथा ज्यापु समाज यलःका अध्यक्ष शान्तमान महर्जन निर्णायकको भूमिकामा थिए । मिस नेवाः उपाधि विजेताद्वय सकिना महर्जन र प्रलिशा शाक्य, मिस नेवाः कार्यक्रमका सोसल एम्बेसडर चिफ तिमिला महर्जन कोरियोग्राफर रहेको सो प्रतियोगिता मिस नेवाः विजेता रहिसकेकी कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलबाट नेपाल चिनाउन सफल खेलाडी एवं मिस लिटिल नेवाः ११४१ का ट्यालेन्ट अवार्ड विजेता नयना शाक्यलाई उनको उपलब्धीका लागि सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय