Thursday 22 January 2026 / बिहीबार, ८ माघ २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीले इन्जिनियर किरण केसीलाई पार्टीको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङ, पार्टी प्रवक्ता राजु थापा तथा वरिष्ठ नेता रमेश्वर श्रेष्ठको सिफारिसमा केसीलाई उक्त जिम्मेवारी दिइएको हो।

इन्जिनियर केसी पेशाले इन्जिनियर तथा उद्यमी हुन्। उनले भारतको भिस्वेश्वरैया प्राविधिक विश्वविद्यालयअन्तर्गत बेंगलोरस्थित VVIT बाट इन्जिनियरिङ अध्ययन पूरा गरेका छन् भने अस्ट्रेलियाको Federation University बाट व्यवसाय प्रशासन (MBA) मा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

सामाजिक अभियन्ताका रूपमा केसी मीटर ब्याज आन्दोलन, भ्रष्टाचारविरोधी अभियान तथा युवामुखी नागरिक अभियानहरूमा सक्रिय रहँदै आएका छन्। यसअघि उनी २०७९ सालको संघीय निर्वाचनमा स्वतन्त्र रूपमा सक्रिय राजनीतिक सहभागिता जनाइसकेका व्यक्ति हुन्।

उद्यमशीलता, परियोजना व्यवस्थापन, सार्वजनिक नीति, युवा सशक्तीकरण र सुशासनका क्षेत्रमा अनुभव बटुलेका केसीले चीन, थाइल्यान्ड, भियतनाम, भारत र अस्ट्रेलियालगायत मुलुकमा व्यावसायिक तथा सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका छन्।

पार्टी सचिवालय सदस्यका रूपमा जिम्मेवारी पाएपछि केसीले पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “नैतिक नेतृत्व, पारदर्शिता र प्रमाणमा आधारित नीतिनिर्माणमार्फत आधुनिक नेपालको निर्माणमा योगदान गर्ने मेरो लक्ष्य हो,” उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय