मिस तामाङ २०२६ को १८औँ संस्करण काठमाडौंको प्रदशर्नीमार्ग स्थित द ब्लू पभेलियनमा भव्य रूपमा सम्पन्न भएको छ । मम्स इन्टरनेशनल नेपालले रन्जिता लामाको नेतृत्वमा आयोजना गरेको यस प्रतियोगितामा १७ जना तामाङ समुदायका युवतीहरू सहभागी थिए । प्रतियोगिताले संस्कृति, सौन्दर्य, बुद्धिमत्ता र आत्मविश्वासलाई एकै मंचमा प्रस्तुत गरेको थियो । कडा प्रतिस्पर्धापछि काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तान तामाङले मिस तामाङ २०२६ को ताज पहिरिन सफल भइन् । विजेताका रुपमा नगद पुरस्कार रु पचास हजारका साथमा उनले भ्यूअर च्वाइस र मोस्ट कन्फिडेन्ट उपाधि पनि जितिन् । प्रतियोगितामा सुष्मा स्याङ्दान तामाङ फस्ट रनर्स अप सहित नगद पुरस्कार रु ३० हजार, सृष्टि थिङ तामाङ सेकेन्ड रनर्स अप सहित नगद पुरस्कार रु २० हजार तथा ओसिन गोले तामाङ थर्ड रनर्स अप विजेता सहित नगद पुरस्कार रु १० हजार प्राप्त गरेका थिए । सृष्टिले फोटोजेनिक अवार्ड पनि प्राप्त गरिन् ।

कार्यक्रममा स्वागत नृत्य, परिचयात्मक चरण, इभनिङ गाउन राउन्ड, शीर्ष १० प्रश्न–उत्तर चरण र शीर्ष ५ अन्तिम प्रश्न–उत्तर चरण समावेश गरिएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशन फेशन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए । प्रतियोगिता अन्तर्गत अन्य उपाधिहरूमा देवी वाइबा तामाङले ट्यालेन्ट अवार्ड, ऐश्वर्या घिसिङ तामाङले बेस्ट ड्रेस र मल्टिमिडिया अवार्ड, सुजिना गोङ्बा तामाङले बेस्ट वाक र ब्युटिफुल हेयर, कबिना वाइबा तामाङले पर्सनालिटी अवार्ड, पूजा जिम्बा तामाङले डिसिप्लिन अवार्ड र स्वर्णिमा थिङ तामाङले स्माइल अवार्ड प्राप्त गरेका थिए । मिस तामाङ प्रतियोगिताको मुख्य उद्देश्य तामाङ संस्कृति, पहिचान र परम्पराको प्रवद्र्धन गर्नु, साथै तामाङ युवतीहरूलाई आफ्नो प्रतिभा देखाउने, आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने, संवाद र सामाजिक सीप सुधार गर्ने अवसर प्रदान गर्नु रहेको छ । आयोजकका अनुसार यो प्रतियोगिताले युवतीहरूको समग्र विकास र सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


