काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

आज आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव ले फोटो पत्रकार प्रदीपराज वन्तलाई नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससद्वारा स्थापित ७ हजार ५०० राशिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रदान गर्नुभयो। सोही पुरस्कार अन्तरराष्ट्रिय समाचार शाखाका उपसम्पादक दिलीप शर्मालाई पनि प्रदान गरिएको थियो।
डेढ दशकदेखि राससमा फोटोपत्रकारका रूपमा कार्यरत वन्तले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा फोटोपत्रकारितामार्फत विशिष्ट योगदान दिँदै आउनुभएको छ। उहाँले विगतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का आधिकारिक फोटो सल्लाहकारका रूपमा कार्य गरिसक्नुभएको छ। हाल उहाँ निर्वाचन आयोग का आधिकारिक फोटोग्राफरका रूपमा कार्यरत हुनुहुन्छ। साथै, राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्षका रूपमा देशभरका फोटोपत्रकारहरूको नेतृत्व गर्दै तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रममा सक्रिय रहँदै आउनुभएको छ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले प्रदान गर्ने ‘रासस पत्रकारिता पुरस्कार’ अङ्ग्रेजी समाचार सहसम्पादक पवित्रा गुरागाईं र वरिष्ठ समाचार सम्पादन सहायक रेश्मा शाक्यलाई प्रदान गरियो। ‘उमाकान्त गीतादेवी चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ स्थानीय समाचारदाता टेकराज पोखरेललाई प्रदान गरिएको थियो।
महासङ्घ रासस शाखाले पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई सम्मान गरेको छ। त्यस्तै, रासस कर्मचारी युनियनले सेवाग्राही शाखाका सहायक प्रशासक मुना भण्डारी र सवारी चालक कुमार दङ्गाललाई पुरस्कृत गरेको छ भने रासस कर्मचारी सङ्घद्वारा प्रदान गरिने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ सिद्धराज भट्ट र गौरी कारञ्जितलाई प्रदान गरिएको छ।
वार्षिकोत्सवका अवसरमा राससले संस्थागत विकास, पेशागत उत्कृष्टता तथा जिम्मेवार पत्रकारितामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको जनाएको छ। तस्बिर M रत्न श्रेष्ठ, रासस


