काठमाडौँ, नेपाल विद्युत् प्राधिकरण ले आज काठमाडौँका विभिन्न स्थानमा निर्धारित समयका लागि विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने सिनामङ्गल चोक र तिलगङ्गा क्षेत्रमा पोल ढल्केको कारण मर्मतसम्भार कार्य गर्न ११ केभी प्रसारण लाइन सटडाउन गर्न लागिएको हो।
तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यस्तै तिनकुने, गैरीगाउँ, सिनामङ्गल तथा विमानस्थल क्षेत्रका स्थानमा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म विद्युत् कटौती हुने जनाइएको छ।
यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्यका कारण बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् कटौती गरिनेछ। बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग तथा प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी लगायतका क्षेत्रमा पनि विद्युत् कटौती हुनेछ। त्यस्तै वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
विद्युत् कटौतीबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले ग्राहकवर्गसँग क्षमायाचना गरेको छ।


