नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) ले आफ्नो बहुप्रतीक्षित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” का लागि प्रि–जजमेन्ट सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कलेज परिसरमै आयोजना गरिएको उक्त सत्रमा ६२ जना स्नातक गर्दै गरेका विद्यार्थी डिजाइनरहरूले आफ्ना कलेक्सनका प्रारम्भिक झलक प्रस्तुत गरेका थिए । यी सबै कलेक्सनहरू २०२६ मार्च २८ मा द प्लाजामा हुने ग्रान्ड फिनालेमा प्रस्तुत गरिनेछन् ।

प्रि–जजमेन्ट सत्र विद्यार्थीहरूको लागि अत्यन्त महत्वपूर्ण मूल्यांकन चरणको रूपमा रहेको थियो, जहाँ उनीहरूले आफ्नो प्रेरणा, सिर्जनात्मक प्रक्रिया तथा प्राविधिक कार्यान्वयनबारे विस्तृत प्रस्तुति दिएका थिए । यसले अन्तिम प्रस्तुतिपूर्व सुधार र परिमार्जनका लागि मार्गदर्शन प्रदान गरेको थियो । विद्यार्थीहरूले पावरपोइन्ट प्रस्तुतीमार्फत अवधारणा विकास, सामग्री छनोट, पोशाक निर्माण प्रविधि तथा समग्र डिजाइन विकास प्रक्रियालाई स्पष्ट रूपमा व्याख्या गरेका थिए । प्रस्तुत कलेक्सनहरूमा परम्परागत शिल्पकला, समकालीन सौन्दर्यबोध र नवीन डिजाइन दृष्टिकोणको सन्तुलित समिश्रण देखिएको थियो ।

उक्त सत्रमा विशिष्ट निर्णायक मण्डलका रूपमा साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान तथा फेसन शिक्षाविद् राजेन्द्र सिंह सहभागी हुनुहुन्थ्यो । कार्यक्रम नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानि शोभा तुलाधर र भाइस–प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो ।

२०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” नेपालको प्राकृतिक विविधता—वन, सिमसार, हिमाल, वनस्पति, जीवजन्तु तथा भू–दृश्य—लाई केन्द्रमा राखेर तयार गरिएको छ । विविधतामै सौन्दर्य निहित हुन्छ भन्ने अवधारणामा आधारित यस शोले ¥याम्पलाई प्रकृतिको जीवन्त कथामा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा ६ वटा थिमेटिक कलेक्सनअन्तर्गत ६२ वटा डिजाइनर पोशाक तथा ६ वटा विशेष सिर्जनात्मक डिजाइन प्रस्तुत गरिनेछन् । प्रत्येक कलेक्सनले प्रकृति, संस्कृति र समकालीन फेसनबीचको सन्तुलन प्रस्तुत गर्दै वातावरणीय संरक्षणप्रति सचेतना अभिवृद्धि गर्नेछ ।

कार्यक्रममा ६२ जना स्नातक डिजाइनरहरूको सिर्जना ६ वटा सेग्मेन्टमा प्रस्तुत गरिनेछ, जसलाई ६ जना पुरुष तथा २६ जना महिला व्यावसायिक मोडलहरूले प्रस्तुत गर्नेछन् । शोको कोरियोग्राफी अन्तर्राष्ट्रिय रूपमा परिचित संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यद्वारा गरिनेछ ।
प्रस्तुत गरिने प्रमुख कलेक्सनहरूमा “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो” अन्तर्गत अनिता बम्जन, सुयाशा भट्टराई, संगिता बालाम्पाकी मगर, रञ्जिता लामा, दीपा लिम्बु, सम्झना चौधरी, सरस्वती सिंह, प्रतिभा चौधरी, दीक्षा अधिकारी, प्रतिमा गुरुङ र ज्योति राईका डिजाइनहरू समावेश छन् ।
“इरिडिसेन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगान्स” मा मेनुका रोका, अस्मिता श्रेष्ठ, जुना थापा, ऐश्वर्या पुन, अमिता थापा मगर, स्मारिका तिमिल्सिना, पुष्पा कँडेल, कशिश श्रेष्ठ, कविता बीके र सुष्मिता घिसिङका सिर्जनाहरू प्रस्तुत हुनेछन् ।

“अभियोराः विंग्स अफ द हिमालय” अन्तर्गत निलिमा दाहाल, सेलिना शाक्य, प्रमिला सिन्जापति, आलिशा मुखिया, निकेता महर्जन, प्रकाश सापकोटा, प्रियंका मेहता, बसन्त थापा मगर, पूर्णिमा सेन र अस्मिता घिमिरेका डिजाइनहरू समावेश छन् । “आवरण मृतिकाः बिनिथ, बियन्ड, बिकमिङ” मा रिया श्रेष्ठ, सुष्मिता महर्जन, सोनिया महर्जन, तिसा महर्जन, सन्ध्या निरौला, आरती गिरी, एमी श्रेष्ठ, रोजिना खत्री, अनुशा सुवाल र कौशल मोटेका सिर्जनाहरू प्रस्तुत हुनेछन् ।

“रेड लिस्ट रेभेरी” मा सम्मृद्धि महर्जन, स्वस्तिका श्रेष्ठ, ईशा महर्जन, अमृता लिम्बु, आस्था फुयाल, रोजिलिना श्रेष्ठ, प्रेरणा न्यौपाने, रितिशा खड्का, अनुसुया गुरुङ र दिया गुरुङका डिजाइनहरू रहनेछन् । “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल” अन्तर्गत आशिष शर्मा, कृति लिम्बु, प्रज्वल चौधरी, नेहा चौधरी, कामाक्षी थापा, मनीषा सिन्जापति, लिना आचार्य, प्रीति कुमारी, सृष्टि ढकाल, दिव्याना लिम्बु र नीतु कठायतका सिर्जनाहरू प्रस्तुत गरिनेछन् ।

यी सम्पूर्ण कलेक्सनहरूले सहनशीलता, रूपान्तरण, सिर्जनात्मकता, वातावरणीय चेतना तथा नेपालको समृद्ध जैविक विविधताको कथा प्रस्तुत गर्नेछन् । कलेज प्रशासनका अनुसार प्रि–जजमेन्ट सत्रमा प्राप्त अंकहरू अन्तिम मूल्यांकनमा समावेश गरिनेछन् । उक्त संयुक्त नतिजा पूर्वाञ्चल विश्वविद्यालयद्वारा ‘फेशन शो’ विषयअन्तर्गत, Bachelor of Fashion Design and Management (BFDM) कार्यक्रमको अन्तिम सेमेस्टर बोर्ड परीक्षाको अंशका रूपमा प्रकाशित गरिनेछ । यस प्रणालीले अवधारणा विकासदेखि अन्तिम कार्यान्वयनसम्मको समग्र मूल्यांकन सुनिश्चित गर्दछ ।
कार्यक्रमलाई राधा कृष्ण ज्वेलर्स, अमेरिकन ल्याङ्ग्वेज सेन्टर र लिम कलेजले सिल्भर स्पोन्सरको रूपमा सहयोग गरेका छन् । हेयर तथा मेकअप आईएसएएस ब्यूटी स्कुलद्वारा व्यवस्थापन गरिनेछ भने मुटु नेपालले अतिरिक्त सहयोग प्रदान गरेको छ । एक्सओ क्लब सेलिब्रेशन पार्टनरका रूपमा आबद्ध रहेको छ । साथै, ग्ल्यामर नेपाल र यसनेपाली कार्यक्रमका विशेष अनलाइन मिडिया साझेदार रहेका छन् ।

नमुना कलेज अफ फेशन टेक्नोलोजीको २०औँ ग्राजुएसन फेसन शो सिर्जनशीलता, शिल्पकला र नवीनताको भव्य उत्सवका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । स्नातक डिजाइनरहरूका लागि यो कार्यक्रम उनीहरूको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि मात्र नभई व्यावसायिक फेसन उद्योगतर्फको प्रवेशद्वार पनि बन्ने विश्वास गरिएको छ । प्राकृतिक सम्पदा, नवीन सोच र समकालीन फेसनको समिश्रणले सुसज्जित “विविधायन सौन्दर्यम्” ले फेसनप्रेमी तथा उद्योगका पेशेवरहरूलाई प्रेरित गर्ने विश्वास गरिएको छ। बढ्दो उत्सुकतासँगै यसको ग्रान्ड फिनालेले उत्कृष्ट डिजाइन, सिर्जनात्मकता र शैलीले भरिएको अविस्मरणीय साँझ प्रस्तुत गर्नेछ।


