आरोही शाही र आरोग्य शर्मा ले फेशन शो आइडल किड्स इन्टरनेशनल २०२६ मा उल्लेखनीय सफलता हासिल गरेका छन् । नेपालका यी प्रतिभाशाली बाल प्रतिभाहरूले भियतनामको हनोईमा मार्च २१, २०२६ मा आयोजित अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम पुनः उज्ज्वल बनाएका हुन् । विश्वभरका प्रतिभाशाली सहभागीहरूलाई एकै थलोमा ल्याएको उक्त प्रतिष्ठित प्रतियोगिताले प्रतिभा, आत्मविश्वास र सांस्कृतिक आदान–प्रदानको सशक्त मञ्च प्रदान गरेको थियो ।

नेपालको प्रतिनिधित्व प्रस्तुत भएकी आरोही शाही ग्रान्ड विनर बन्न सफल भइन्, जसले आफ्नो आकर्षक व्यक्तित्व, उत्कृष्ट स्टेज प्रस्तुति र आत्मविश्वासमार्फत अन्तर्राष्ट्रिय निर्णायकहरूको मन जितिन् । साथै, आरोग्य शर्माले पनि उत्तिकै प्रभावशाली प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा फस्ट रनर–अपको स्थान हासिल गरे ।

उक्त प्रतियोगितामा नेपालका राष्ट्रिय निर्देशक आनन्द सिंह ले अन्तर्राष्ट्रिय निर्णायक (जुरी) को रूपमा समेत भूमिका निर्वाह गरेका थिए । आरोही र आरोग्य दुवै जना यस अघि फेसन एराले आयोजना गरेको किड्स स्टार इन्टरनेशनल नेपाल २०२६ – सिजन ५ को सिनियर क्याटेगरीका विजेता हुन् । उनीहरूले आफ्नो प्रस्तुतीमार्फत व्यक्तिगत उत्कृष्टता मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बाल प्रतिभाहरूको बढ्दो क्षमता र सम्भावनालाई समेत उजागर गरेका छन् ।

उनीहरूको यो सफलता फेशन एरा को निरन्तर प्रयासको परिणाम हो, जसले नवप्रवेशी प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउँदै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।

