Tuesday 21 April 2026 / मंगलवार, ८ बैशाख २०८३

नेपाली फेसन उद्योगमा नयाँ ऊर्जा र सृजनशीलताको झल्को दिँदै “द नेसनल डिजाइनर रनवे २०२६” को ग्रान्ड फिनाले राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । यस वर्षको संस्करण विशेष रूपमा महिला फेसन डिजाइनरहरूमा मात्र केन्द्रित रहँदै कार्यक्रमले फरक पहिचान स्थापित गर्न सफल भएको छ । कार्यक्रममा नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ अध्ययनरत २२औं ब्याचका विद्यार्थी डिजाइनर आकृति श्रेष्ठको सृजनाले उत्कृष्टता हासिल गर्दै विजेताको उपाधि प्राप्त गर्न सफल भएकी छिन् । विजेताको रुपमा उनले रु. २५,००० नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा आईआईएफटी नेपालमा फेसन डिजाइनिङ अध्ययनरत अनिशा थापा फस्ट रनर अप छनौट भइन् भने नमूना कलेजकी युनिका राई सेकेन्ड रनर अप बन्न सफल भइन् । दर्शकको अत्यधिक माया र समर्थनका आधारमा नमूना कलेजकी विद्यार्थी सम्झना के.सी.ले “मोस्ट पपुलर” अवार्ड जित्न सफल भइन् । सहभागि मोडलहरु मध्ये बिबिका पौडेलको आत्मविश्वासी र आकर्षक प्रस्तुतिका लागि उनलाई “बेस्ट रनवे मोडल” को उपाधि प्रदान गरिएको थियो ।
प्रतियोगितामा देशभरबाट आएका १९ जना प्रतिभाशाली महिला डिजाइनरहरूले सहभागिता जनाएका थिए, जसले महिला मोडलहरूका लागि मात्र लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए । परम्परा र आधुनिकताको समिश्रण झल्काउने डिजाइनहरूले रनवेमा दर्शकहरूको मन जितेका थिए ।

यस वर्ष प्रस्तुत गरिएका धेरैजसो ड्रेसहरू अन्तर्राष्ट्रिय रेड कार्पेट फेसनबाट प्रेरित देखिन्थे। विश्व चर्चित अवार्ड समारोहहरूमा देखिने ग्ल्यामरस लुकलाई ध्यानमा राख्दै डिजाइनरहरूले बोल्ड कट, फ्लोइङ गाउन, हाई स्लिट, सिक्विन डिटेलिङ, मेटालिक टोन र एलिगेन्ट सिल्हुएट प्रयोग गरेका थिए। केही कलेक्सनहरूमा हलिउड तथा बलिउड सेलिब्रिटीहरूको रेड कार्पेट स्टाइल झल्किने गरी ड्रामाटिक ट्रेल, अफ–शोल्डर डिजाइन, डीप नेकलाइन र फ्युजन कुट्युर समावेश गरिएको थियो । यस्ता डिजाइनहरूले केवल सौन्दर्य मात्र होइन, आत्मविश्वास, शक्ति र आधुनिक महिलाको व्यक्तित्वलाई पनि अभिव्यक्त गरेका थिए। साथै, नेपालीपन झल्काउन केही डिजाइनहरूमा ढाका, ह्यान्डमेड फेब्रिक र परम्परागत मोटिफलाई आधुनिक कटसँग संयोजन गरिएको थियो, जसले लोकल र ग्लोबल फेसनबीच सन्तुलन प्रस्तुत ग¥यो।
फिनालेको निर्णायक मण्डलमा बिशाल गुरुङ, स्वीकृति प्याकुरेल, सुचिता साची र अश्विनी कान्त झाको उपस्थिति रहेको थियो । उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, क्रिएटिभिटी र समग्र प्रभावका आधारमा नतिजा निर्धारण गरेका थिए । कार्यक्रमको होस्टिङ तथा कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए, जसको व्यवस्थापन र प्रस्तुतीकरणले शोमा थप आकर्षण र व्यावसायिकता थपेको थियो । यो भव्य कार्यक्रम एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपूतको नेतृत्वमा आयोजना गरिएको हो । साथै, आयोजक टिमका सदस्यहरू यादव बहादुर थापा, परमानन्द चौधरी र शैलेश नेपालीको सक्रिय योगदानले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय