ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि आयोजित ‘न्युलुक ब्युटी फर लाईफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८को ग्रान्ड फिनाले काठमाडौँमा सम्पन्न भएको छ । यो प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी ब्युटिसियन चाँदनी श्रेष्ठ बिजेता भएकी छिन् । उनले २५ हजार रुपैयाँ नगद, शिर्ष उपाधिसहित बेष्ट हेयर स्टाईलिस्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड र मल्टि मिडिया अवार्ड पनि जितिन् ।
बिहिबार राती नाचघरमा सम्पन्न समारोहमा भ्युअर्स च्वाईस अवार्ड र बेस्ट आईल्यासेस टेक्निसियन अवार्डसहति खोटाङकी हिरा राई फस्ट रनरअप भइन् । उनले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गरिन् । बेस्ट स्क्रिन अवार्डसहित खोटाङकी संगीता राई सेकेन्ड रनरअप भईन भने उनले १० हजार रुपैयाँ र क्राउन प्राप्त गरिन् ।

रोज ब्युटि एकेडेमी र बिलक्षण क्रियसन प्रा.लि. आयोजनामा फेसन कोरियोग्राफर एवं संचारकर्मी जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितामा मोस्ट डिसिप्लिन अवार्डसहित रामेछापकी अनिता गुरुङले थर्ड रनर अपको उपाधि हासिल गरिन् । यस्तै स्वस्तिका अधिकारी बिष्टले बेष्ट आई अवार्ड सहित म्यानेजमेन्ट च्वाईस अवार्ड जितिन् भने बेष्ट स्टाईलिस्ट अवार्डसहित अस्बिना सिंहले अर्गनाईजर च्वाईस अवार्ड प्राप्त गरिन् ।

