Friday 1 May 2026 / शुक्रबार, १८ बैशाख २०८३

ढाका, वैशाख ३० — बंगलादेश र नेपालको फोटोपत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित “Photographer on the Street” शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेश (PIB) मा सम्पन्न भएको छ। कार्यक्रममा दुवै देशका अग्रणी फोटोपत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सेमिनारको उद्घाटन सत्रमा PIB का महानिर्देशक फरुक वासिफले स्वागत मन्तव्य राख्दै फोटोपत्रकारिताले लोकतान्त्रिक अभ्यासमा महत्वपूर्ण भूमिका खेलेको बताए। त्यसपछि बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटोपत्रकारहरूको जिम्मेवारी अझ बढ्ने उल्लेख गरे।




कार्यक्रम अन्तर्गत आयोजित प्यानल छलफलमा बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गनी चौधुरी, बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (NFPJ) का अध्यक्ष प्रदीप राज वन्त, बीपीजेएका महासचिव बाबुल तालुकदार तथा जतीय प्रेस क्लबका प्रतिनिधिले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए। वक्ताहरूले सडक आन्दोलनका क्रममा फोटो खिच्दा आउने जोखिम, नैतिकता, प्रेस स्वतन्त्रता तथा सुरक्षा चुनौतीबारे गहन छलफल गरेका थिए।

खुला छलफल सत्रमा नेपाल र बंगलादेशका सहभागीहरूले फोटोपत्रकारितामा सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिको आवश्यकता औंल्याए।

समापन सत्रमा PIB का महानिर्देशक फरुक वासिफले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

नेपाल र बंगलादेशबीच फोटोपत्रकारितामा विगत दुई दशकभन्दा बढी समयदेखि रहँदै आएको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित उक्त सेमिनारले अनुभव आदान–प्रदान तथा व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय