काठमाडौँ, नेपाली मौलिक गीत-संगीतको क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडा/चुड्का गीत ‘पियारी’ सार्वजनिक गरेका छन्। गण्डक क्षेत्रको पहिचान बोकेको रैथाने भाकालाई व्यावसायिकता भन्दा माथि उठेर संरक्षण गर्ने उद्देश्यले यो गीत बजारमा ल्याइएको हो। गीतमा गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ भने शब्द सिर्जना गणेश गुरुङकै हो। संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका हुन्। गीतको एरेञ्ज तेजेन्द्र दुराले गरेका छन्।
‘पियारी’ विशेषगरी गोरखा र तनहुँ आसपासका क्षेत्रमा प्रचलित रैथाने चुड्का भाका हो। नेपालको गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा र दराई समुदायमा यो भाका निकै लोकप्रिय छ। सांस्कृतिक परम्परा अनुसार, सामान्यतया चुड्का गीतको गायन वैशाख पूर्णिमाबाट सुरु हुने गर्दछ। क्षेत्र र भेग अनुसार सती घाटु र चुड्का गीतको विशिष्ट र गहिरो सम्बन्ध रहने गर्दछ, जसलाई यस गीतले उजागर गर्ने प्रयास गरेको छ।

“मैले व्यावसायिक लाभका लागि भन्दा पनि हाम्रा पुर्खाहरूले जोगाएका रैथाने धुनहरू ओझेलमा नपरुन् भनेर यो अभियान स्वरूप ‘पियारी’ ल्याएको हुँ,” गायक गणेश गुरुङ भन्छन्। नेपाली संगीत क्षेत्रमा मौलिक कौडा गीतलाई अवार्ड दिने परम्परा सुरु भएपछि पहिलो ‘राप्ती म्यूजिक अवार्ड’ (सुनको औँठी गीतबाट) चुम्न सफल गुरुङलाई स्रोता/दर्शकले ‘कौडा किङ्ग’ को उपाधिसमेत दिएका छन्।
मनाङ गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र स्वयं गणेश गुरुङको अभिनय देख्न सकिन्छ। करण चैसिरले खिचेको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका हुन्।

यसअघि ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’, र ‘गोगनपानीमा’ जस्ता अत्यधिक रुचाइएका दोहोरी गीत पस्किसकेका गुरुङको यो नयाँ प्रस्तुतिले मौलिक संस्कृति प्रेमीहरूलाई उत्साहित बनाएको छ। गण्डक सभ्यताको सुगन्ध बोकेको यो गीतले नेपाली मौलिक संगीतको भण्डारमा अर्को एउटा इँटा थप्ने विश्वास गरिएको छ।


