काठमाडौं, नेपाल मेडिकल कलेजले नेपालबाट साउदी अरबको मक्का मदिनामा हज यात्राका लागि जाने नेपाली हजयात्रीहरुलाई आपत्कालिन स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । नेपाल हज समितिका पदाधिकारीहरुलाई कलेजले हजयात्राका क्रममा अत्यावश्यक पर्ने औषधी तथा स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो । बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले हज समितिका अध्यक्ष मोख्तार अहमदलाई स्वास्थ्य सामग्री प्रदान गर्दै हजयात्रीहरुको सुखद् यात्राको शुभकामना पनि दिनुभयो । “हजमा जानु भनेको मुस्लिम समुदायको लागि पवित्र कार्य हो । गतवर्षजस्तै यो वर्षपनि यहाँहरुले सफलतापूर्वक नेपाली मुस्लिम समुदायका हजयात्रीहरुलाई हज यात्रा सम्पन्न गराउनु हुनेछ भन्नेमा हामी विस्वस्त छौं ।” कलेजका अध्यक्ष प्रा.डा. अन्सारीले भन्नुभयो । साथै, उहाँले हजयात्रामा आइपर्ने संभावित समस्याहरु बारे समितिलाई जानकारी गराउँदै आवश्यक समन्वय र सहकार्यका लागि आफ्नो तर्फबाट सहजीकरण गर्न तत्पर रहेको बताउनु भयो ।

नेपाल हज समितिका अध्यक्ष मोख्तार अहमदले गतवर्ष नेपालको हज समितिले नेपाली हजयात्रीहरुलाई कुशल व्यवस्थापन गरेको भन्दै साउदी सरकारले सम्मानका लागि छनौट समेत गरेको अवगत गराउँदै यो पटक पनि समितिले हजयात्रीहरुलाई कुनैपनि प्रकारको समस्या नपर्ने गरी व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
साउदी अरब सरकारले नेपालबाट प्रत्येक वर्ष १२ सय जनालाई हज यात्राका लागि कोटा प्रदान गर्दै आइरहेको छ । यो वर्ष आउँदो शनिबारबाट हजयात्रा सुरु हुने अध्यक्ष मोख्तारले जनाउनु भयो । समितिले हरेक वर्ष देशभरबाट हजयात्रामा जाने मुस्लिम नागरिकहरुलाई दरखास्त दिन आब्हान गर्दछ । सोही अनुरुप यो वर्षका लागि १२ सय ५६ जनाले आवेदन दिएका मध्ये प्राथमिकताको आधारमा १२ जना छनौट गरिएको थियो ।


