जेनेभा, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । हालसम्म यस प्रकोपका कारण तीन जनाको मृत्यु भइसकेको छ भने पाँच वटा पुष्टि भएका र तीन वटा शंकास्पद सङ्क्रमणका केसहरू देखिएका छन् । सङ्क्रमित तथा शंकास्पद बिरामीहरूलाई बेलायत, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेसनमा राखिएको छ ।
यो सङ्क्रमण एमभी होन्डियस नामक क्रुज जहाजसँग जोडिएको छ, जसले अर्जेन्टिनाको उसुआइआबाट यात्रा सुरु गरी क्यानरी टापुहरूतर्फ समुद्री यात्रा गरिरहेको थियो । यात्राका क्रममा केही यात्रुहरूमा अचानक गम्भीर लक्षण देखिन थालेपछि स्वास्थ्य अधिकारीहरूले जहाजमा फैलिएको संक्रमणबारे अनुसन्धान सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार एक यात्रु अर्जेन्टिनामा जहाज चढ्नु अघि नै संक्रमित भएको हुन सक्ने र पछि जहाजमा अन्य यात्रुहरूमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससका अनुसार हान्ताभाइरसको इन्क्युबेशन अवधि छ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिन वा हप्ताहरूमा थप सङ्क्रमणका केसहरू देखिन सक्ने सम्भावना रहन्छ । उहाँल यस रोगको विकासक्रमलाई नजिकबाट निगरानी गरिँदैछ र अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताउनुभयो ।डब्ल्यूएचओका आपतकालीन प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले यदि सबै देशहरूले समयमै परीक्षण, सङ्क्रमित व्यक्तिहरूको पहिचान, सम्पर्क ट्रेसिङ र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरू प्रभावकारी रूपमा लागू गरे भने यो प्रकोप ठूलो स्तरमा फैलिन नदिई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्था ‘सीमित तर सतर्क रहनुपर्ने’ प्रकृतिको छ ।
यसबीच अर्जेन्टिनाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन उसुआइआ क्षेत्रमा मुसा परीक्षण गर्ने तयारी गरेका छन्, किनकि हान्ताभाइरस सामान्यतया संक्रमित मुसाको सम्पर्कबाट फैलिने गर्छ । जहाजमा यात्रा गरेका सबै यात्रु र चालक दलको विस्तृत सम्पर्क ट्रेसिङ पनि भइरहेको छ ।जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपेडिसनका अनुसार हाल जहाजमा कुनै पनि लक्षण देखिएका यात्रु छैनन् र जहाज आफ्नो गन्तव्य स्पेनको टेनेरिफतर्फ अघि बढिरहेको छ, जहाँ आइतबार पुग्ने तालिका छ । यात्रुहरूलाई विभिन्न देशमा पठाइएपछि स्थानीय स्वास्थ्य निकायहरूले उनीहरूको स्वास्थ्य निगरानी गरिरहेका छन् । डब्ल्यूएचओले यो प्रकोपलाई नियन्त्रणमा राख्न अन्तर्राष्ट्रिय सहयोग, समयमै परीक्षण र कडा आइसोलेसन उपायहरू अत्यन्त आवश्यक छन्, अन्यथा संक्रमण थप देशहरूमा फैलिन सक्ने जोखिम रहने जनाएको छ ।


