Thursday 14 May 2026 / बिहीबार, ३१ बैशाख २०८३

काठमाडौँ, नेपालमा पहिलो पटक पूर्ण रूपमा अनलाइनमार्फत एकै ठाउँबाट १८० भन्दा बढी देशहरूको भिसा आवेदन दिन सकिने भएको छ । अनलाइन सञ्जाल ‘ग्लोबल भिसा सेवा डटकम’ मार्फत यस्तो सेवा सञ्चालनमा आएको हो ।

भेन्चर्स होलिडेज प्रालिद्वारा प्रवद्र्धित यस प्लेटफर्मले भिसाका सम्बन्धमा नेपालीहरुले भोग्दै आएका प्रकिृयागत समस्यालाइ समाधान गर्न सहज, सुरक्षित र डिजिटल बनाउने लक्ष्य लिएको बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार अब प्रयोगकर्ताले एउटै लगइनमार्फत विश्वका १८० भन्दा बढी देशको भिसासम्बन्धी जानकारी प्राप्त गर्न र आवेदन दिन सक्नेछन । ‘यो प्लेटफर्मले भिसा आवेदन प्रक्रियालाई मात्र होइन, सम्पूर्ण डिजिटल इकोसिस्टममार्फत पारदर्शी र सहज सेवा दिने लक्ष्य लिएको छ,’ उनले भने, ‘रियल–टाइम अपडेट, डकुमेन्ट प्रि–चेकिङ र विशेषज्ञ सहयोगले आवेदन अस्वीकृत हुने सम्भावना समेत घटाउने विश्वास लिएका छौँ ।’ त्यस्तै नेपालमै पहिलो पटक आएको यस प्लेटफर्मले अब नेपाली यात्रु तथा ट्राभल एण्ड टुर्सहरूलाई पनि भिसासम्बन्धी जानकारी लिन र आवेदन दिन सहज हुने पन्तले बताए ।

त्यस्तै यो सेवाको मुख्य विशेषता नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । ईसेवा, कनेक्ट आईपीएस तथा स्वदेशी र अन्तर्राष्ट्रिय डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने भएकाले धेरै देशको भिसा आवेदनका लागि डलर कार्ड अनिवार्य हुने बाध्यता हट्ने कम्पनीको भनाइ छ । यस प्रणालीमार्फत डकुमेन्ट भेरिफिकेसन, प्रि–चेकिङ, अपोइन्टमेन्ट बुकिङ तथा विशेषज्ञ परामर्श सेवा समेत एकै ठाउँबाट उपलब्ध हुने बताइएको छ ।

पर्यटन क्षेत्रसँग सम्बद्ध जानकारहरूले यस्तो डिजिटल प्लेटफर्मले नेपालबाट हुने अन्तर्राष्ट्रिय यात्रालाई थप व्यवस्थित र सहज बनाउने बताएका छन । उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा विदेश भ्रमण गर्ने नेपालीको सङ्ख्या बढ्दै जाँदा भिसा प्रक्रियामा देखिने झन्झट कम गर्न यस्ता प्रविधिमैत्री समाधान आवश्यक भइसकेको उहाँहरुको अनुभव छ ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स सम्बद्ध व्यवसायीहरूका अनुसार यस्तो प्रणालीले ट्राभल एजेन्सीहरूको सेवा वितरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । छुट्टै भिसा डेस्क सञ्चालन गर्नुपर्ने बाध्यता घट्ने र सेवाको गुणस्तरमा सुधार आउने उनीहरूको भनाइ छ ।

यद्यपि, प्रविधि तथा साइबर सुरक्षा क्षेत्रका जानकारहरूले यस्ता डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण र कागजातको सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन । सेवा प्रदायकले डेटा सुरक्षा र गोपनीयता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रणाली अवलम्बन गर्न आवश्यक रहने जानकारहरु बताउँछन् ।

यसैगरी, पर्यटन नीतिसँग सम्बन्धित सरोकारवालाहरूले यस्ता सेवाले नेपालको डिजिटलाइजेसन अभियानलाई टेवा पुर्‍याउने उल्लेख गर्दै सरकारी निकायसँगको समन्वय अझ मजबुत बनाउनुपर्ने धारणा राखेका छन ।

हालसम्म नेपाली प्रयोगकर्ताहरूले भिसा आवेदनका लागि प्रायः अन्तर्राष्ट्रिय सेवा प्रदायक वा दूतावास(केन्द्रित प्रणालीमा निर्भर रहनुपरेको अवस्थामा यस्तो स्वदेशी डिजिटल प्लेटफर्मले प्रक्रिया सरल बनाउने अपेक्षा गरिएको छ । ८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय