एभरेस्ट स्कुल ले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । भक्तपुर–२, मिबाछेस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, पत्रकार, सञ्चारकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रजनी जोशी ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको चरित्र निर्माण, संस्कार, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक जीवनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै एभरेस्ट स्कुलले शिक्षामा गुणस्तर र संस्कारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी ले विद्यालयका नीति, कार्यक्रम, शैक्षिक योजना तथा मूल्य–मान्यताका विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले नियमित पठनपाठनसँगै नैतिक शिक्षा, अनुशासन, नेतृत्व विकास, सिर्जनशीलता, व्यवहारिक सीप तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै आएको छ । विद्यार्थीहरूलाई अध्ययनसँगै समाजप्रति जिम्मेवार, संस्कारयुक्त र आत्मविश्वासी नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न अतिरिक्त तथा सह–शैक्षिक कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।

त्यसैगरी विद्यालयले स्थानीय कला, संस्कृति, भाषा तथा सम्पदासँग विद्यार्थीलाई परिचित गराउने उद्देश्यले विभिन्न परियोजनामूलक तथा व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइएको थियो । विद्यालयले रेडियो प्रस्तुति, सार्वजनिक वक्तृत्व, साहित्यिक गतिविधि, शैक्षिक भ्रमण, खेलकुद तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा विकासमा जोड दिँदै आएको बताइएको थियो ।कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले प्रदान गरिरहेको शैक्षिक वातावरण, अनुशासन, संस्कारमूलक शिक्षा तथा विद्यार्थीमैत्री सिकाइ प्रणालीप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । पत्रकार तथा सञ्चारकर्मीहरूले पनि वर्तमान समयमा व्यवहारिक, प्रविधिमैत्री तथा मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयले त्यसतर्फ प्रभावकारी पहल गरिरहेको बताएका थिए ।
कार्यक्रममा अन्य वक्ताहरूले पनि विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र अभिभावकबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले नवआगन्तुक विद्यार्थीहरूलाई नयाँ शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अध्ययनमा अघि बढ्न आग्रह गरेका थिए ।
विद्यालयका अनुसार नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई विद्यालयको वातावरण, शैक्षिक प्रणाली, नियम तथा गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । स्वागत, परिचय तथा शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।


