Sunday 17 May 2026 / आईतवार, ३ जेष्ठ २०८३

मुगु, कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ आज बिहानदेखि सुरु भएको छ । साहसिक पर्यटन प्रवर्द्धन तथा धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छायानाथ धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।प्रतियोगितामा कुल ५८ जना धावक सहभागी भएका छन् । सहभागीमध्ये ४६ जना पुरुष र १२ जना महिला रहेका छन् । प्रतियोगितामा राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा ख्याति र मापदण्ड प्राप्त २३ जना धावक सहभागी भएका छन् ।

दुई जना इलिट, सात जना एक्सपर्ट, नौ जना एड्भान्स र पाँच जना इन्टरमिडियट स्तरका धावक सहभागी छन् । तेत्तीस किलोमिटर दूरीको यस ट्रेल/अल्ट्रा दौड दुई हजार ८८० मिटरको किम्री गाउँदेखि सुरु भएको चार हजार ८२० मिटर छायानाथ धाम हुँदै दुई हजार २२० मिटर पुलु बजार पुगेर समाप्त हुनेछ ।गाउँपालिकाका अध्यक्ष छिरिङ लामाले छायानाथ क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु चिनाउन मद्दत पुग्ने पनि पालिका अध्यक्ष लामाको भनाइ छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले भन्नुहुन्छ, “प्रतियोगिताले स्थानीय स्तरमा पर्यटन व्यवसाय, होटल तथा अन्य आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ ।” उहाँले प्रतियोगिता व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको बताउनुभयो ।

गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत अधिकारी सोबिन्द्रबहादुर मल्लका अनुसार प्रतियोगितामार्फत मुगुम कार्मारोङ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचार गर्ने लक्ष्य राखिएको छ । स्थानीय बासिन्दा, युवा तथा सरोकारवाला निकायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको अधिकृत मल्लले बताउनुभयो । पहिलो छायाँनाथ ट्रेल/अल्ट्रा म्याराथनमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडीहरू अर्जुन राई लुकिङ, बल कुँवर, धिरज बुढा, आङफुर्वा शेर्पा, सुनमाया बुढा, निर्मला राई जस्ता खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय