Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

अर्ना प्रस्तुत म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को १५औँ संस्करणले नेपालका प्रतिभाशाली र उदीयमान पुरुष प्रतिभाहरूलाई उजागर गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गरेको छ। भव्य ग्रान्ड फिनालेमा सशांक शाहीले उत्कृष्ट प्रदर्शन गर्दै म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को मुख्य उपाधि जित्न सफल भए। उनले एम्पायर कलेक्सन मिस्टर पर्सनालिटी अवार्डसमेत आफ्नो नाममा पार्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थितिलाई अझ सशक्त बनाए।

यसैगरी, प्रसन्न राई मिस्टर मोडल इन्टरनेशनल नेपाल २०२६ घोषित भए। उनले स्क्वायर होटल मिस्टर एटिकेट र इमेज च्यानल मिस्टर पब्लिक च्वाइस जस्ता दुई विशेष उपाधिहरू पनि प्राप्त गरे। सिद्धार्थ सन्ज्यालले मिस्टर कोस्मोपोलिटन नेपाल २०२६ को उपाधि जिते भने चञ्चल शाही ठाकुरी मिस्टर इको इन्टरनेशनल नेपाल २०२६ घोषित भए। उनले सुइरो मेन्स वेयर मोस्ट स्टाइलिस तथा जास्मिन फिटनेस मिस्टर फिजिक जस्ता अतिरिक्त अवार्डहरू पनि हासिल गरे। यी सबै विजेताहरूले आ–आफ्ना सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने भएका छन्।

विशेष उपाधिहरू अन्तर्गत विजय विक्रम थापाले एभेन्टोज मिस्टर पपुलर तथा क्रिएटिभ डी स्टुडियो मिस्टर फोटोजेनिक अवार्ड प्राप्त गरे। प्रणव कट्टेल आइआइएफटी म्यानहण्ट मेल सुपरमोडेल घोषित भए भने गगन रोकायाले मोल टोल मिस्टर फ्रेन्डसिप उपाधि जिते। दिवस मगरले अल्टिमा लाइफस्टाइल मिस्टर ट्यालेन्ट अवार्ड प्राप्त गरे।

कार्यक्रमको पेजेन्ट कोरियोग्राफी तथा समग्र शो निर्देशन वरिष्ठ फेसन कोरियोग्राफर अनुप सक्सेना ले सम्हालेका थिए, जसको अनुभव र दक्षताले कार्यक्रमलाई व्यवस्थित, आकर्षक र उच्चस्तरीय प्रस्तुति प्रदान गर्यो। साथै प्रतियोगीहरूको स्टेज प्रस्तुति, सञ्चार सीप तथा व्यक्तित्व विकासका लागि फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य ले विशेष प्रशिक्षण प्रदान गरेका थिए, जसले उनीहरूलाई आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा व्यावसायिक प्रस्तुति विकास गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

प्रतियोगिता परिचय चरणबाट सुरु भएको थियो, जहाँ प्रतियोगीहरूले इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी नेपाल (आइआइएफटी) का चौध जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका सिर्जनात्मक पोशाकहरू प्रस्तुत गरेका थिए। त्यसपछि सुइरो मेन्स वेयर को रेडी–टु–वेयर कलेक्सन, रुलएक्स नाइन को बडी–फिट वेयर तथा एम्पायर कलेक्सन का आकर्षक टक्सेडो डिजाइनहरू र्याम्पमा प्रस्तुत गरिएको थियो। परिचय चरणपछि प्रतियोगिता टप १० सेमिफाइनल चरणमा प्रवेश गरेको थियो, जहाँ प्रतियोगीहरूको सञ्चार क्षमता, विचार अभिव्यक्ति र व्यक्तित्व परीक्षण गर्न मौखिक प्रश्न–उत्तर चरण सञ्चालन गरिएको थियो। त्यसपछिको टप ५ चरणमा प्रतियोगीहरूले एउटै साझा अन्तिम प्रश्नको लिखित उत्तर प्रस्तुत गर्दै आफ्नो बौद्धिक क्षमता, विचारको स्पष्टता तथा समसामयिक विषयप्रतिको बुझाइ प्रस्तुत गरेका थिए।

प्रतियोगिताको मूल्याङ्कन प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायक मण्डलमा मिस्टर इन्टरनेशनल नेपाल २०२४ दिलिप नेपाली, म्यानहण्ट इन्टरनेशनल नेपाल २०२४ अभिनव थापा, जनस्वास्थ्य विज्ञ डा. समीर मणि दीक्षित, आतिथ्य व्यवसायी रोमी आर्याल, इभाना मानन्धर तथा वरिष्ठ फेसन तथा पेजेन्ट कोरियोग्राफर रचना गुरुङ शर्मा रहेका थिए। निर्णायक मण्डलको नेतृत्व प्रमुख निर्णायकका रूपमा अनुभवी फेसन कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्रकार ले गरेका थिए, जसले नेपालको फेसन तथा मनोरञ्जन क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान दिँदै आएका छन्। कार्यक्रमको सञ्चालन रोजिन शाक्य र उरुसा जोशीले आकर्षक र पेशेवर शैलीमा गरेका थिए भने कार्यक्रम व्यवस्थापनको जिम्मेवारी अशिम सक्सेनाले सम्हालेका थिए।

यो प्रतिष्ठित प्रतियोगिता ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (जि.ई.ई.) द्वारा आयोजना गरिएको थियो। कार्यक्रममा अल्टिमा लाइफस्टाइल एसोसिएट पार्टनरका रूपमा तथा इमेज च्यानल एचडी पावर पार्टनरका रूपमा सहभागी रहेका थिए। कार्यक्रम काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन मा सफलतापूर्वक सम्पन्न भएको थियो। प्रतियोगिताभन्दा पर, म्यानहण्ट इन्टरनेशनल नेपाल नेपालमा पुरुष फेसन, मोडलिङ, फिटनेस तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने एक महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ। यसले नयाँ प्रतिभाहरूलाई व्यावसायिक प्रशिक्षण, अनुभव तथा अवसर प्रदान गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने बाटो खोल्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय