Sunday 18 October 2026 / आईतवार, २ कार्तिक २०८३

पूर्वप्रधानन्यायाधीश एवं पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी ले संविधान संशोधन गर्दा यसको मूल संरचना, प्रस्तावना र आधारभूत मर्मलाई यथावत् राख्नुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलसँगको भेटमा उहाँले शासकीय स्थायित्व र लोकतान्त्रिक सन्तुलनबीच उचित सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो।

रेग्मीले धार्मिक व्यवस्थामा कुनै फेरबदल नगर्न, सरकार गठन तथा अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्थालाई व्यावहारिक बनाउँदै दुई वर्षको सट्टा ६ महिनाको समयसीमा राख्न सकिने सुझाव दिनुभयो। साथै, समानुपातिक सांसदको संख्या घटाएर ६० मा सीमित गर्नुपर्ने र ठूला संवैधानिक पदमा पुगिसकेका व्यक्तिहरूलाई पुनः समानुपातिक कोटाबाट संसदमा ल्याउने अभ्यास रोक्नुपर्ने धारणा राख्नुभयो।
उहाँले प्रतिनिधिसभा उम्मेदवारको न्यूनतम उमेर २१ वर्ष र राष्ट्रिय सभा उम्मेदवारको उमेर ३० वर्ष कायम गर्न सुझाव दिनुभएको छ। साथै, मानव अधिकार आयोगलाई बलियो केन्द्रीय आयोगका रूपमा राखी अन्य आयोगहरूलाई त्यसअन्तर्गत समायोजन गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कर्णाली र मधेस प्रदेशको विकासका लागि संविधानमै विशेष व्यवस्था आवश्यक रहेको बताउँदै रेग्मीले विकास योजनाको बजेट सुनिश्चितता र न्यायपालिकामा पारदर्शिता तथा जवाफदेहिता बढाउन स्वतन्त्र अनुगमन संयन्त्रको आवश्यकता औंल्याउनुभयो। कार्यदल संयोजक असिम शाहले रेग्मीका सुझावहरूलाई बहस पत्रमा गम्भीरतापूर्वक समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय