काठमाडौं, सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा फोटो पत्रकारहरूका लागि आयोजित दुईदिने प्राथमिक उपचार (फर्स्ट एड) तालिम सम्पन्न भएको छ। गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरस्थित सम्पादक समाज नेपालको भवनमा सञ्चालन गरिएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत १० जना फोटो पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, सम्पादक समाज नेपालका उपाध्यक्ष जुनारबाबु बस्नेत, रेडक्रस जिल्ला शाखाका सदस्य नवराज काफ्ले तथा समाजका संरक्षक किरण वैद्य ले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो।

तालिममा दुर्घटना, विपद् तथा आपत्कालीन अवस्थाका बेला आवश्यक प्राथमिक उपचारका आधारभूत सीप, घाइतेको उद्धार, रक्तस्राव नियन्त्रण, हाडजोर्नी तथा चोटपटक व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

समापन कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले फोटो पत्रकारहरू सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमपूर्ण घटनास्थलमा अग्रपंक्तिमा खटिने भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले फिल्डमा कार्यरत पत्रकार वा उनीहरूका सहकर्मी घाइते भएको अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्न सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो।

उहाँले जोखिमपूर्ण परिस्थितिमा कार्यरत फोटो पत्रकारका लागि आकस्मिक दुर्घटना वा चोटपटकको अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप अत्यावश्यक हुने बताउँदै यस्तो सीपले घाइतेको अवस्था थप जटिल हुन नदिई सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

सहभागीका तर्फबाट फोटो पत्रकार शम्भु दंगाल ले वर्तमान परिवेशमा फोटो पत्रकारका लागि फर्स्ट एड तालिम अत्यन्त सान्दर्भिक र आवश्यक रहेको बताउनुभयो। सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमयुक्त घटनास्थलमा सबैभन्दा पहिले पुग्ने पत्रकारहरूलाई दुर्घटना तथा अप्रत्याशित परिस्थितिको जोखिम बढी हुने भएकाले तालिमबाट प्राप्त ज्ञान र सीपले आफू तथा सहकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार फिल्डमा खटिने सञ्चारकर्मीहरूको सुरक्षा तथा आपत्कालीन परिस्थितिमा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीप आफ्नो पेशागत जीवनमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।


