काठमाडौं, दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै तीनदिने विशेष सांगीतिक उत्सव आयोजना गर्ने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरी गायिका टीका सानुसम्मका दर्जनौँ चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

क्लबले वार्षिकोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारहरूलाई प्रत्येक वर्ष आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। यसैक्रममा क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

कुँवरले कलाकार तथा कर्मचारीहरूको निरन्तर मेहनतले क्लब १८ वर्षसम्म सफलतापूर्वक सञ्चालन हुन सकेको उल्लेख गर्दै अबदेखि प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबको आम्दानीबाट न्यूनतम ५० हजार रुपैयाँ संघर्षरत तथा दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवको पहिलो दिन जेठ २९ गते प्रेम राजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ। दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्त रानी परियारले सांगीतिक प्रस्तुति दिनेछन् भने अन्तिम दिन जेठ ३१ गते विश्व दोङ र टीका सानुले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ।

साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सञ्चालन हुने उत्सवमा सहभागी दर्शकहरूले विशेष छुट तथा सहुलियतको सुविधा पनि प्राप्त गर्ने सञ्चालक कुँवरले जानकारी दिए। विगत १८ वर्षदेखि नेपाली लोकसंगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्दै नेपाली सांगीतिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।


