युवा प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा सिर्जनशीलताको भव्य उत्सवका रूपमा मनास्लु वर्ल्ड कलेजद्वारा प्रस्तुत “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ – भोल्युम ५” सफलतापूर्वक सम्पन्न भएको छ। एसईई उत्तीर्ण गरेका प्रतिभाशाली युवायुवतीहरूलाई आफ्नो क्षमता, व्यक्तित्व र नेतृत्व गुण प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतिष्ठित प्रतियोगिता कृष्ण श्रेष्ठ (रो बेन) द्वारा एभरेष्ट इभेन्ट्सको ब्यानरमा तथा भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसन एण्ड इन्टेरियरको पावर्ड सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रम काठमाडौंको प्रतिष्ठित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्यताका साथ आयोजना गरिएको थियो। प्रतियोगिताका विभिन्न चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास, व्यक्तित्व, सञ्चार कौशल तथा मञ्च प्रस्तुतीकरणमा अब्बल सावित भएका प्रतियोगीहरूमध्ये सौरभ सितौलाले मिस्टर एसईई सुपर मोडल २०२६को उपाधि जित्न सफल भए भने आर्याना सिंहले मिस एसईई सुपर मोडल २०२६को ताज पहिरिन सफल भइन्। दुवैले आफ्नो व्यक्तित्व, आकर्षक प्रस्तुति, लगनशीलता तथा प्रतिस्पर्धात्मक क्षमताका माध्यमबाट निर्णायक मण्डलको मन जित्दै प्रतियोगिताको सर्वोच्च सम्मान प्राप्त गरे।

यसैगरी प्रिन्स चौधरी र आकृति राईले फेस अफ एसईई सुपर मोडल २०२६को उपाधि हासिल गरे। उनीहरूको आत्मविश्वास, आकर्षक व्यक्तित्व तथा फेसन र मिडिया क्षेत्रमा सम्भावनायुक्त उपस्थितिले निर्णायकहरूलाई विशेष रूपमा प्रभावित गरेको थियो। उनीहरूको सफलता निरन्तर मेहनत, समर्पण र उत्कृष्ट तयारीको प्रतिफलका रूपमा हेरिएको छ। प्रतियोगितामा अन्य उत्कृष्ट प्रतियोगीहरूलाई पनि विभिन्न स्थानका उपाधिहरूद्वारा सम्मानित गरिएको थियो। जोयल महर्जन र युइशा बस्नेत प्रथम उपविजेता घोषित भए भने साओलिन श्रेष्ठ र कृतिश्मा लामा द्वितीय उपविजेता बने। त्यसैगरी आरव श्रेष्ठ र सुम्निमा बजगाईं तृतीय उपविजेता तथा अन्सन अधिकारी र युनिशा शाक्य चतुर्थ उपविजेताका रूपमा सम्मानित भए। उनीहरूले प्रतियोगिताभर देखाएको प्रतिभा, लगनशीलता र निरन्तर मेहनतले उनीहरूलाई यी सम्मानजनक स्थानसम्म पुर्याएको हो।

कार्यक्रमका सहभागीहरूले प्रतियोगिताअघि विशेष ग्रुमिङ तथा व्यक्तित्व विकास प्रशिक्षण प्राप्त गरेका थिए। यस प्रक्रियाले उनीहरूलाई सार्वजनिक बोलाइ, नेतृत्व क्षमता, आत्मविश्वास अभिवृद्धि तथा मञ्च प्रस्तुतीकरणका विविध पक्षहरूमा निखार ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो। प्रतियोगिताका प्रत्येक चरणमा उनीहरूले प्रतिभा, बौद्धिक क्षमता, सिर्जनशीलता र आत्मविश्वासको उत्कृष्ट प्रदर्शन गरेका थिए। कार्यक्रमको आकर्षणलाई अझ उचाइमा पुर्याउन चर्चित कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जनले आफ्नो विशेष कोरियोग्राफीमार्फत मञ्चलाई सौन्दर्य, आकर्षण र सिर्जनशीलताको अद्भुत संयोजनमा रूपान्तरण गरेका थिए। त्यस्तै, कार्यक्रमका सञ्चालक रोजिन शाक्यले आफ्नो प्रभावशाली प्रस्तुति, उत्कृष्ट वक्तृत्वकला तथा आकर्षक सञ्चालन शैलीमार्फत सम्पूर्ण कार्यक्रमलाई थप गरिमामय र मनोरञ्जनात्मक बनाएका थिए।

प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत समेत प्रतियोगीहरूलाई सम्मान गरिएको थियो। बिबेक भुसाल र जेलिशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको थियो। उनीहरूले प्रतियोगिताको मूल्य, उद्देश्य तथा छविलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गरेको आधारमा उक्त सम्मान प्राप्त गरेका हुन्। त्यसैगरी साइएस रौनियार र जेत्सुन डोल्मा मोक्तानलाई उनीहरूको समर्पण, सकारात्मक सोच तथा प्रभावशाली सहभागिताका लागि अर्गनाइजर च्वाइस अवार्ड प्रदान गरिएको थियो। बौद्धिक क्षमता, आत्मविश्वास र प्रभावकारी अभिव्यक्तिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै सदिक्षा तामाङले ब्युटी विथ ब्रेन अवार्ड प्राप्त गरिन्। त्यस्तै सुशान्त तामाङ र हिमानी लामिछानेलाई उनीहरूको आकर्षक व्यक्तित्व, व्यावसायिक प्रस्तुति तथा शैलीका कारण भ्यालेन्टिनो ब्रान्ड एम्बेसडरको उपाधि प्रदान गरिएको थियो। दर्शक तथा सामाजिक सञ्जालमार्फत प्राप्त व्यापक समर्थनका आधारमा पनि विभिन्न विशेष सम्मानहरू प्रदान गरिएका थिए। साधवी प्रसाईंले पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन् भने आयुष्री कार्कीले भ्युज च्वाइस अवार्ड जित्न सफल भइन्। अविनाश तामाङलाई भ्युज च्वाइस रनर-अपको सम्मान प्रदान गरिएको थियो भने अरिका थापा र प्रिन्स पाण्डेलाई मोस्ट पपुलर रनर-अपको उपाधिबाट सम्मानित गरिएको थियो।


