Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौंको गोंगबु निवासी सभ्या महर्जन ‘मिसेस ग्लोबल नेपाल २०२६’ को उपाधि जित्न सफल भएकी छन्। ललितपुरको छ्यासलस्थित ज्यापु एकेडेमी हलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा उनले प्रतिष्ठित राष्ट्रिय ताज आफ्नो नाम गरिन्। उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने एनएफईए २०२६ (NFEA 2026) मा नेपालको प्रतिनिधित्व गर्ने विशेष इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्। प्रतियोगिताभर आफ्नो आत्मविश्वास, प्रतिभा, व्यक्तित्व र आकर्षक प्रस्तुति मार्फत उत्कृष्ट प्रदर्शन गरेकी सभ्याले मुख्य उपाधिसँगै ‘बेस्ट ट्यालेन्ट’ र ‘बेस्ट ड्रेस’ गरी दुई विधागत अवार्ड समेत जित्न सफल भइन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित विवाहित महिलाहरूको राष्ट्रिय सौन्दर्य प्रतियोगिताको नवौं संस्करणमा रन्जिता क्षेत्री फस्ट रनरअप तथा अन्जु भट्टराई सेकेन्ड रनरअप घोषित भए।

कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक उद्घाटन नृत्यबाट भएको थियो। कार्यक्रमकी कोरियोग्राफर हिमानी सुब्बा को निर्देशनमा प्रस्तुत गरिएको थिमेटिक नृत्यले दर्शकहरूको मन जितेको थियो। प्रतियोगिता परिचय चरण, बेस्ट ड्रेस प्रस्तुति, टप नाइन छनोट तथा टप सिक्स फाइनलिस्ट चरण हुँदै अन्ततः क्राउनिङ समारोहमा पुगेर सम्पन्न भएको थियो। मुख्य उपाधिका अतिरिक्त विभिन्न विधागत अवार्डहरू समेत घोषणा गरिएको थियो। जसअन्तर्गत रोशी धितालले बेस्ट फोटोजेनिक, रन्जिता क्षेत्रीले मोस्ट स्मार्ट, अन्जु भट्टराईले मोस्ट डाइनामिक, तथा बिमला महर्जनले मोस्ट चार्मिङ र मोस्ट पपुलर अवार्ड प्राप्त गरिन्। त्यसैगरी सरला थापाले मोस्ट कन्फिडेन्ट, ललिता राईले बेस्ट कम्प्लेक्सन, तथा बिमला श्रेष्ठले बेस्ट पर्सनालिटी अवार्ड जितिन्। गीता खतिवडा (खत्री) ले बेस्ट मल्टिमिडिया र मोस्ट डिलिजेन्ट, निर्मला नगरकोटीले मोस्ट प्यासोनेट, तथा बिना महर्जनले मोस्ट एट्र्याक्टिभ अवार्ड प्राप्त गरिन्। यसैगरी मिना कुमारी मगरले मोस्ट डेडिकेटेड र पब्लिक च्वाइस दुवै अवार्ड जित्न सफल भइन् भने अन्जुदेवी भट्टराईले पब्लिक च्वाइस भिडियो अवार्ड प्राप्त गरिन्।

प्रतियोगिताको मूल्याङ्कन फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेत्री तथा इभेन्ट अर्गनाइजर मेनुका माझी, तथा ब्युटिसियन नेपाल २०२६ विजेता सानु थापा मगर लगायत प्रतिष्ठित व्यक्तित्वहरूको निर्णायक मण्डलले गरेको थियो। कार्यक्रमको सञ्चालन फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य ले गरेका थिए। ‘मिसेस ग्लोबल नेपाल २०२६’ ले विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र उपलब्धिहरू प्रदर्शन गर्ने प्रभावशाली मञ्च प्रदान गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय