Saturday 20 June 2026 / शनिबार, ६ असार २०८३

काठमाडौ, इरानले लेबनानसहित क्षेत्रीय द्वन्द्व अन्त्य गराउने जिम्मेवारी अमेरिकाको भएको बताउँदै युद्धविराम सम्झौता उल्लङ्घन भए त्यसको सम्पूर्ण जिम्मेवारी वासिङ्टनले वहन गर्नुपर्ने चेतावनी दिएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी विदेशमन्त्री इशाक डारसँगको टेलिफोन वार्तामा अमेरिका युद्ध अन्त्य गराउन गम्भीर हुनुपर्ने बताएका हुन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्नै इच्छाले वार्तामा आएको दाबी गर्दै आगामी ६० दिनसम्म अमेरिकाबाट कुनै आर्थिक सहायता नपाउने बताएका छन्।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘योद्धा प्रधानमन्त्री’ भन्दै प्रशंसा गरेका छन्। साथै, आफूले इजरायललाई हेजबुल्लाहसँग युद्धविराम गर्न आग्रह गरेको र यो अमेरिका–इरान सम्झौतापछिको सकारात्मक उपलब्धि भएको बताएका छन्।
उता, युद्धविरामको चर्चा चलिरहेकै बेला हेजबुल्लाह प्रमुख नईम कासिमले आफ्नो संगठनले इजरायली कब्जा कहिल्यै स्वीकार नगर्ने बताएका छन्। उनले आवश्यकता परे हतियारबाटै कडा जवाफ दिने चेतावनीसमेत दिएका छन्।

यसैबीच, इजरायलले दक्षिणी लेबनान र बेका उपत्यकामा गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता मृत्यु हुनेको संख्या ३,९८० पुगेको छ।

अमेरिका–इरानबीच स्विट्जरल्यान्डमा हुने भनिएको पहिलो औपचारिक वार्ता हाललाई स्थगित भए पनि कूटनीतिक पहल जारी रहेको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी युवराज मोहम्मद बिन सलमानसँग संवाद गर्दै क्षेत्रीय शान्ति र वार्तालाई कूटनीतिक माध्यमबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय