काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोरखापत्रमार्फत सूचना जारी गर्दै साउन २ र ३ गते परीक्षा सञ्चालन हुने जनाएको हो।
सार्वजनिक तालिकाअनुसार एक विषयमा मात्र सहभागी हुने परीक्षार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन परीक्षा दिनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने विद्यार्थीहरूको परीक्षा पहिलो दिनमै सम्पन्न हुनेछ।
यस्तै, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयको परीक्षा दिनुपर्ने परीक्षार्थीहरूले अंग्रेजीको परीक्षा पहिलो दिन र नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले १९ असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा प्रतिविद्यार्थी ८०० रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।


