ललितपुर, युवाहरूलाई रोजगारी तथा स्वरोजगारीका अवसरसँग जोड्ने उद्देश्यले ललितपुरको गोदावरीमा सूचना, सञ्चार तथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम सुरु भएको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले सो तालिम आयोजना गरेको हो।

तालिमको उद्घाटन गर्नुहुँदै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वर्तमान युग डिजिटल प्रविधिको भएकाले प्रविधिलाई पछ्याउन नसक्नेहरू पछाडि पर्ने बताउनुभयो। विगतको स्मरण गर्दै उहाँले भन्नुभयो, “विगतमा विश्वका सूचना र समाचारका लागि नेपाल टेलिभिजनको भर पर्नुपर्ने अवस्था थियो, तर अहिले प्रविधिले संसारलाई साँघुरो बनाइदिएको छ।” प्रमुख महर्जनले सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्र नभई आम्दानी र आर्थिक उन्नतिका रूपमा उपयोग गर्न युवाहरूलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले सन् १९९० को दशकमा भित्रिएको इन्टरनेटको पहुँच सन् २००० पछि तीव्र गतिमा बिस्तार भएको उल्लेख गर्दै प्रविधिको तीव्र विकाससँगै युवाहरूले आफ्नो सीप परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।

आइतबारसम्म चल्ने उक्त तालिममा प्रशिक्षकहरू राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा राससका फोटोत्रकार प्रदीप राज वन्त, अनलाइन पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी र योगेन्द्र बहादुर महताले मोबाइल फोटोग्राफी, सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबारे प्रशिक्षण दिइरहनुभएको छ। उक्त तालिममा ८० जना प्रशिक्षार्थीहरु रहेका छन ।

महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले युवाहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई प्रतिस्पर्धी श्रम बजारमा सक्षम बनाउन तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। तालिममा ललितपुरका विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको छ।




