Tuesday 23 June 2026 / मंगलवार, ९ असार २०८३

गोरखा, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

सदरमुकाममा आज सम्पन्न दोस्रो जिल्ला भेलाले नयाँ कार्यसमिती चयन गरेको हो । भेलाबाट श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा विकास मरहट्ठा, सचिवमा मेलिना बराम, कोषाध्यक्षमा अस्मिता सिम्खडा तथा सदस्यहरूमा दीपक श्रेष्ठ, सुदीप श्रेष्ठ र विराज त्रिपाठी चयन हुनुभएको छ।

एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकाल, पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायत सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति रहेको थियो ।

जिल्लामा क्रियाशील फोटो पत्रकारहरूको पेशागत विकास, क्षमता अभिवृद्धि, संगठन विस्तार तथा फोटो पत्रकारहरूको हकहितका लागि समुहले काम गर्दै आएको छ ।कार्यक्रममा सहभागीहरूले डिजिटल युगमा फोटो पत्रकारिताको बदलिँदो स्वरूप, समाचार सम्प्रेषणमा दृश्य सामग्रीको बढ्दो महत्व तथा फोटो पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष वन्तले फोटो पत्रकारहरूको एकता, पेशागत मर्यादा र सीप विकासलाई संगठनको प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले एनएफपिजे नेपाल फोटो पत्रकारहरूको पहिलो छाता संगठनका रूपमा स्थापित भई फोटो पत्रकारहरूको हकहित र पेशागत उन्नयनका लागि निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो।

भेलाले आगामी दिनमा गोरखा जिल्लामा फोटो पत्रकारिता सम्बन्धी तालिम, अन्तरक्रिया, फोटो प्रदर्शनी तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय