काठमाडौं, नेपालस्थित चाइना कल्चरल सेन्टरले शुक्रबार “न्यु कल्चरल एन्ड क्रिएटिभ वर्कशप: डिजिटल नेसनल ट्रेन्ड इनोभेसन एक्जिबिसन” को औपचारिक उद्घाटन गरेको छ। एक महिनासम्म सञ्चालन हुने यस प्रदर्शनीमा समकालीन चिनियाँ संस्कृति, कला र सिर्जनशीलताको विविध पक्ष प्रस्तुत गरिएको छ।


प्रदर्शनी जुन २६ देखि जुलाई २५, २०२६ सम्म काठमाडौंस्थित चाइना कल्चरल सेन्टरमा सञ्चालन हुनेछ। उद्घाटन समारोहमा सांस्कृतिक क्षेत्रका प्रतिनिधि, कलाकार तथा विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।


चाइना कल्चरल सेन्टरका निर्देशक लिउ झानपिङले कला, डिजाइन र सिर्जनात्मक उद्योगमार्फत नेपाल–चीनबीचको सांस्कृतिक आदान–प्रदान र आपसी मित्रता अझ सुदृढ बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।


प्रदर्शनीमा ५० भन्दा बढी समकालीन चिनियाँ सांस्कृतिक तथा सिर्जनात्मक सामग्री प्रदर्शनमा राखिएका छन्। सिरामिक, तामाका कलाकृति, सुजोउ कढाइ, वस्त्रकला, परम्परागत लालटिन तथा चिनियाँ सांस्कृतिक सौन्दर्यबाट प्रेरित नवीन उत्पादनहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।

कार्यक्रममा आगन्तुकका लागि ‘प्याटर्न्स अफ लाइफ’ नामक डिजिटल अनुभव र परम्परागत रबिङ वर्कशप पनि सञ्चालन गरिएको छ। साथै, ड्रागन बोट फेस्टिभलको अवसरमा जोङ्जी (परम्परागत चिनियाँ चामलको परिकार) चाख्ने, ताइजी प्रदर्शन, संगीत तथा कविता प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ।


आयोजकका अनुसार प्रदर्शनीले नेपाल र चीनबीच सांस्कृतिक संवाद, सिर्जनात्मक सहकार्य तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




