काठमाडौं, नेपालमा स्ट्रीट फुटबलको विकास, युवा प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यसहित “Xtreme Football Fever ISFA 3v3 Street Football World Cup Qualifiers Nepal 2026” आयोजना हुने भएको छ। प्रतियोगिताको आधिकारिक घोषणा आइतबार गरिएको हो।
मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको सहयोगमा आयोजना हुने प्रतियोगिताको व्यवस्थापन LPS Management Pvt. Ltd., S&S Health and Research Centre (AEC Sports) र Triple Two Production Pvt. Ltd. ले संयुक्त रूपमा गर्नेछन्।

प्रतियोगितामा देशभरबाट निःशुल्क दर्तामार्फत ९२ टोलीको सहभागिता रहनेछ। समूह चरण र नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्याण्ड्सको यूट्रेक्टमा हुने ISFA 3v3 Street Football World Cup 2026 मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।
विजेता टोलीका खेलाडीहरूले तीन महिनाको व्यावसायिक खेलाडी सम्झौतासँगै विश्वकप तयारीका लागि विशेष बन्द प्रशिक्षण पनि प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै, प्रतियोगिताको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक 3v3 Street Football Ranking समेत तयार गरिनेछ।

प्रतियोगिता जुलाई १ देखि १९ सम्म काठमाडौंका टेकु, तबाहाल, लगन, ओमबहाल र तेबहाल–संकटा लगायतका ऐतिहासिक स्थानहरूमा सञ्चालन हुनेछ। खेलहरू अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल संघ (ISFA) को नियमअनुसार खेलाइनेछन् भने प्रत्येक खेल लगातार १० मिनेटको हुनेछ। प्रतियोगिता फ्लडलाइट, संगीत र मनोरञ्जनात्मक कार्यक्रमसहित उत्सवका रूपमा आयोजना गरिने आयोजकले जनाएको छ।




