Friday 3 July 2026 / शुक्रबार, १९ असार २०८३

काठमाडौँ, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सुरु भएको छ ।

असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिने भएको छ । तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जनाको सहभागिता रहेको आयोजक सस्थाका संयोजक तथा समूहका महासचिव घनश्याम श्रेष्ठले बताए ।

तालिमको उद्देश्य फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार फोटोको गुणस्तर सुधार गर्नु, फोटो क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथनसम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै फोटोपत्रकारिताको नैतिकता, उत्तरदायित्व र आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको छ ।

तालिममा फोटोपत्रकारिताको परिचय र विकास, समाचार मूल्य र फोटो छनोट, फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्युज कभरेज, फोटोपत्रकारिताको आचारसंहिता तथा नैतिकता, फिल्ड अभ्यास र फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

कार्यक्रममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त तथा संस्थाका अन्य पदाधिकारीहरूले सहजीकरण गरेका छन् ।
सहभागीहरूले सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यास, समूह छलफल तथा फिल्ड फोटोग्राफी अभ्यासमा सक्रिय सहभागिता जनाएका छन । तालिमको अन्तिम दिन सहभागीहरूले खिचेका तस्बिरहरूको समीक्षा तथा मूल्याङ्कनसमेत गरिने छ ।


राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताए ।

आयोजक सस्थाका कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ सागरका अनुसार तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । संस्थाले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

तालिम सम्पन्न गराउन सहयोग पु¥याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षक, अतिथि, सहभागी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजक सस्थाले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय