Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

धादिङको रुबीभ्याली गाउँपालिकाकी सबिता तामाङ ‘मिस म्हेन्दोमाया ब्युटी क्विन २०२६’ को उपाधि जित्न सफल भएकी छन्। प्रतियोगिताको भव्य ग्रान्ड फिनालेमा उनले विजेताको ताजसहित नगद रु. ५० हजार प्राप्त गरिन्। प्रतियोगिताभर देखाएको आत्मीय व्यवहार, सौहार्दपूर्ण व्यक्तित्व तथा उत्कृष्ट खेलभावनाको कदरस्वरूप उनी ‘मिस कन्जिनियलिटीको उपाधिबाट समेत सम्मानित भइन्। नुवाकोटको किस्पाङ गाउँपालिकाकी जेनिशा तामाङ प्रथम उपविजेता घोषित हुँदै रु. ३० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भइन्। उनले आकर्षक र आत्मविश्वासपूर्ण र्याम्प प्रस्तुतिका साथै दर्शकमाझ लोकप्रियता हासिल गर्दै ‘मिस बेस्ट वाक’, ‘पब्लिक च्वाइस’ तथा ‘भ्यूअर्स च्वाइस’ गरी तीन विशेष उपाधि आफ्नो नाममा पारिन्। यस्तै, नुवाकोटको लिखु गाउँपालिकाकी पूर्णिमा घलान तामाङ द्वितीय उपविजेता बन्दै रु. २० हजार नगद पुरस्कार प्राप्त गरिन्। उनी आफ्नो आकर्षक व्यक्तित्व र उज्यालो उपस्थितिका लागि ‘मिस रेडियन्ट’ को उपाधिबाट पनि सम्मानित भइन्। धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी रचना तामाङ तृतीय उपविजेता घोषित हुँदै रु. १० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भइन्। प्रतियोगितामा प्रदर्शन गरेको दृढ आत्मविश्वास र प्रभावशाली प्रस्तुतिका आधारमा उनले ‘मिस कन्फिडेन्स’ को उपाधि समेत जितिन्।

प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरूको विशिष्ट प्रतिभा र व्यक्तित्वलाई पनि विभिन्न विशेष उपाधिमार्फत सम्मान गरिएको थियो। उमिको तामाङ ले ‘मिस चार्मिङ’ र ‘मिस फोटोजेनिक’ उपाधि प्राप्त गरिन् भने लिडिया तामाङ ले आफ्नो प्रतिभा र लगनशीलताको कदरस्वरूप ‘मिस डिलिजेन्ट’ तथा ‘मिस ट्यालेन्ट’ को उपाधि जितिन्। त्यसैगरी कबिना वाइबा ‘मिस पर्सनालिटी’ तथा ‘अर्गनाइजर्स च्वाइस’ को सम्मानबाट विभूषित भइन्। बीएसके एक्टिभ नेपाल प्रोडक्सन प्रालि द्वारा आयोजित प्रतियोगिता संस्थाका अध्यक्ष सुर्या मम्बा तामाङ को नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सभापतित्व पासाङ लामाले गरेका थिए भने बागमती प्रदेशसभा सदस्य माननीय राधिका तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

कार्यक्रमलाई अझ आकर्षक र कलात्मक बनाउन प्रतियोगीहरूको नृत्य प्रशिक्षण तथा कोरियोग्राफी एमबी गुरुङ ले गरेका थिए। सम्पूर्ण प्रतियोगिताको स्टेज कोरियोग्राफी, निर्देशन तथा सञ्चालन चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य ले गरेका थिए।
प्रतियोगीहरूको मूल्याङ्कन म्हेन्दोमाया गायक सागर एस. वाइबा, चर्चित निर्देशक राज किङ वाइबा, अभिनेत्री चाँदनी मोक्तान तथा गायक लेक योञ्जन सम्मिलित अनुभवी निर्णायक मण्डलले गरेका थिए। उनीहरूले प्रतियोगीहरूको व्यक्तित्व, आत्मविश्वास, प्रतिभा, सञ्चार क्षमता, सांस्कृतिक प्रस्तुति, र्याम्प प्रस्तुति तथा समग्र प्रदर्शनका आधारमा निर्णय गरेका थिए। कार्यक्रमको व्यवस्थापन बिक्रम लामा ले कुशलतापूर्वक सम्हालेका थिए भने डोल्मा वाइबा तामाङ ले कार्यक्रम संयोजकको जिम्मेवारी निर्वाह गर्दै सम्पूर्ण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय