काठमाडौं, त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी गरेका छन्।
जलनबाट गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत उनको शुक्रबार बिहान ११ः२० बजे निधन भएको हो।
गणेश नेपालीको मृत्यु भएपछि उनका आफन्तले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
एक आफन्तले भने, “हामी शव बुझ्दैनौँ, सडक आन्दोलन गर्छौँ र न्यायका लागि अगाडि बढ्छौँ।”
अर्का आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली ३–४ वर्षअघि काठमाडौं आएका थिए। उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामार्फत जीविकोपार्जन गर्दै आएका थिए।
शाहीका अनुसार बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिवानाको चिट काटेको थियो। आफन्तले घटनाप्रति नगर प्रहरी नै जिम्मेवार रहेको दाबी गर्दै सम्बन्धित पक्षमाथि कारबाहीको माग गरेका छन्।


