मिस सुप्रानेशनल नेपाल २०२६ पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न जुलाई १३ मा पोल्याण्डको क्राकाउ प्रस्थान गरेकी छन्। प्रतियोगिताको भव्य फाइनल जुलाई ३१ मा मालोपोल्स्का, पोल्याण्डमा आयोजना हुनेछ। कानुन स्नातक पूर्णिमा शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्व हुन्। उनले राष्ट्रिय पोशाक, सुप्रा च्याट, प्रारम्भिक मूल्याङ्कनलगायत विभिन्न चरणमा सहभागिता जनाउँदै नेपालको संस्कृति, विविधता र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा प्रस्तुत गर्नेछिन्।

प्रस्थानअघि उनले भनिन्, “नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरो लागि सम्मान र जिम्मेवारी दुवै हो। यो मेरो मात्र होइन, सम्पूर्ण नेपालीहरूको साझा यात्रा हो।” मिस सुप्रानेशनल नेपालका नेशनल डाइरेक्टर तथा सानुर्भी इन्टरनेशनल प्रा.लि.का अध्यक्ष डा. सन्तोष उपाध्याय ले यस वर्ष नेपालले प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पूर्णिमामा नेतृत्व, आत्मविश्वास, बौद्धिकता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रस्तुति दिने सम्पूर्ण गुण विद्यमान छन्।

विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ को ग्रान्ड फिनाले जुलाई ३१ मा पोल्याण्डमा हुनेछ, जहाँ पूर्णिमा कार्कीले नेपालको गौरव र पहिचानलाई विश्वमञ्चमा प्रस्तुत गर्दै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।


